काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा पुगेर ओलीले प्रधानमन्त्रीदाहालसँग भेटेर रायमाझी पक्राउ प्रकरणबारे चासो राखेका हुन् ।
प्रधानमन्त्री दाहालसँगको भेटवार्तापछि बाहिरिने क्रममा उनले आफूहरु यतिवेला रायमाझी उक्त प्रकरणमा तानिएको हो कि वा तनाईएको हो भनेर अध्ययन गरिरहेको सुनाए । उनले भने,‘यो तानिएको हो कि तनाएको हो भनेर अध्ययन गर्दैछौं । निर्दोष पर्नुहुँदैन्, दोषी उम्किनुहुँदैन् । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन् । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं ।’
उनले रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार आएपछि आफूले पनि हिजो राति फोनमा कुरा गरेको जानकारी दिए । आफूसँगको कुराकानीमा रायमाझीले आफूले आईजिपीलाई सम्पर्क गरेको र सोधपुछको लागि बोलाईएको भन्ने कुरा गरेको पनि ओलीले सुनाए ।
उनले रायमाझी बहालवाला सांसद भएको उल्लेख गर्दै उनलाई बाटोबाटै पक्राउ गरिएको विरोध जनाए । उनले भने,‘एउटा बहालवाला सांसद, पटक पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छेलाई बाटोबाटै हत्कडी लगाउनुपर्दैन, ऊ भागेर कतै जाँदैन, त्यसकारण यो निकै रहस्यमय छ।’