Logo

प्रचण्ड–नेपालको सम्बन्ध चिस्सिँदै



काठमाडौं, वैशाख २२ । बलियो कम्युनिस्ट पार्टी निर्माणको परिकल्पना गरेका कम्युनिस्ट दलका शीर्ष नेताबीच सम्बन्ध बिग्रिदै गएसँग ‘समाजवादी मोर्चा’ ओझेलमा पर्न थालेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), नेपाल समाजवादी पार्टी (नेसपा) सहितका दलका बीच समाजवादी मोर्चा बनाउने कसरत भएको हो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवबीच समाजवादी मोर्चा बनाउने छलफल भएको थियो ।

प्रचण्ड र नेपाल, प्रचण्ड र डा. भट्टराईको पछिल्लो सम्बन्ध कटुतामा परिणत भएकाले घोषणा गर्ने भनिएको समाजवादी मोर्चा ओझेलमा परेको हो । भट्टराई र यादव केही समयअघि सम्म एउटै पार्टीमा थिए । पार्टी विभाजन हुनुअघि एकअर्काको आलोचना नगर्ने सहमति भएको भए पनि अहिले सार्वजनिक कार्यक्रममै एक अर्काको आलोचनामा उत्रिन थालेका छन् । यति बेला प्रचण्ड र बाबुराम भट्टराईबीच पनि सम्बन्ध चिसो भइसकेको छ । निर्वाचन अघि माओवादी केन्द्रसँग एकीकरण गर्ने अन्तिम निष्कर्षमा पुगिसकेका भट्टराई अहिले प्रचण्डको कार्यशैलीकै कारण एकीकरण गर्न अनिच्छुक रहेको बताउन थालेका छन् ।

समाजवादी मोर्चा घोषणा गर्दै पार्टी एकीकरण गर्ने रणनीति बनाएका प्रचण्ड र नेपालबीच पनि पछिल्लो समय सम्बन्ध चिसिँदै गएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचण्डमा ‘दम्भ र घमण्ड’ बढ्दै गइरहेको बताउन थालेका छन् । बुधबार सुर्खेत पुगेका एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ र घमण्ड देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिएका छन् । ‘गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्छ । कर्णालीमा माओवादीले गरेको व्यवहार अस्वीकार्य छ । हाम्रो पार्टीलाई पुरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ, यो राम्रो होइन,’ उनले भने ।

अध्यक्ष नेपालले संघीय सरकारमा पनि आफ्नो पार्टी पीडित भएको बताएका छन् । ‘अति गरे खति हुन्छ, समयमै बुझेको राम्रो । हामी केटाकेटी होइनौं, मिठो कुरा गरेर मात्र केही हुँदैन । सन्तुलित तरिकाले अघि बढ्नुपर्छ,’ उनले थपे ।

एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्री प्रचण्डले चासो नदिएको आरोप लगाउन थालेका छन् । उनको आसय पनि समाजवादीको नेतृत्वमा रहेको मन्त्रालयलाई वाइपास गरेको भन्ने थियो ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि आगामी आर्थिक वर्ष भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती हुने भएको भन्दै असन्तुष्ट छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्