Logo

सरुवापछि कर्मचारीको शाही बिदाइ



जनकपुरधाम, वैशाख २२ । ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा’ यो उखानजस्तै मधेस प्रदेशमा अन्यत्र नभएका काम कुरा भइरहेको छ । एक जना हाकिमको बिदाइ ‘शाही’ शैलीमा भएपछि अहिले प्रदेशभरि चर्चाको विषय बनेको छ । सरुवा हुनु समान्य प्रक्रिया हो तर त्यसलाई उत्सवजस्तो बनाएपछि त्यो असामान्य घटना बन्यो ।

उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेस प्रदेशका प्रदेश सचिव विशाल घिमिरेको दुई साताअघि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सरुवा भयो । उनको बिदाइ यति भव्य गरियो । जिल्लाको आठवटै डिभिजन वन कार्यालयका साथै इलाका वन कार्यालयका कर्मचारी विदाइ समारोहमा सहभागी भए । वन क्षेत्रमा काम गर्ने केही व्यक्तिले नागरिक समाजको नाउँमा सम्मानसमेत गरे । मन्त्रालयका एकजना कर्मचारीका अनुसार सचिवलाई १४ ठाउँमा बिदाइ एवं सम्मान गरिएको छ ।

‘जनकपुरधामबाट जान लागेका सबै सचिवलाई हामीले स्वागत एवं सम्मान गर्ने गरेका छौं त्यसकै निरन्तरता हो,’ नागररिक समाजको नाममा स्वागत गरेका सामुदायिक वन उपभोक्ता महासंघ मधेस प्रदेशका अध्यक्ष सोमप्रसाद शर्माले भने ।

‘घिमिरेले धनुषामा एक दर्जन जलाशययुक्त पोखरी बनाउन लगाएको, चुरिया क्षेत्रमा सरोकारवला निकायसँग सहकार्य गरी कार्य गरेकाले हामीले उच्च मूल्यांकन गरेका हौं,’ शर्माले भने ।

जनकपुरधामबाट पोखरा सरुवा भएपछि मधेस प्रदेशको विभिन्न स्थानमा भव्य बिदाइका लागि सचिव घिमिरेले हरेक ठाउँमा व्यवस्थापन गर्न दुई जना कर्मचारीलाई नै खटाएका थिए । ती कर्मचारीले सचिव पुग्नुभन्दा अघि नै डीएफओसँग समन्वय गर्ने गरेको उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेस प्रदेशका एक जना कर्मचारीले नाम नछाप्ने सर्तमा वताए ।

अहिले पोखरा सरुवा भए पनि सचिव घिमिरेले यसअघि पनि प्रत्येक महिना सरकारी गाडी लिएर पोखरा जाने गर्थे । घिमिरेकी श्रीमती वन विज्ञान अध्ययन संस्थान पोखरामा कार्यरत छिन् । उद्योग पर्यटन तथा वन मन्त्रालयका एक जना कर्मचारीका अनुसार महिनामा दुई÷तीन पटकसम्म सचिव घिमिरे पोखरा जाने गर्थे ।

अझ आश्चर्यको कुरो यतिसम्म छ कि सचिव घिमिरेलाई पोखरासम्म छोड्न उद्योग पर्यटन तथा वन मन्त्रालयका निमित सचिव जगन्नाथ जयसवाल पनि गएका थिए । सरकारी गाडी लिएर सरुवा भइसकेका सचिवलाई कार्यक्षेत्रसम्म छोड्न गएपछि जयसवालको कर्मचारीवृतमै निकै आलोचना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्