Logo

पाँच–सात सय भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्छ : मन्त्री किराँती



काठमाडौं, २२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन केपी शर्मा ओली सरकारको उपहार भएको आरोप लगाएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण केपी ओलीको सरकारको उपहार त हो । नेकपाले दुई तिहाइको सरकार बनाउँदा ड्राइभिङ सिटमा को थियो ? यो उहाँले अह्रनखटन मिलाएर भएको घटना हो । त्यसैले उहाँमा छटपटी हुनु स्वाभाविक हो । उहाँको पालामा यस्ता अनगन्ती घटना भएका छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै किराँतीले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भ्रष्टाचारको विरुद्धमा सम्झौताहीन ढंगले लाग्नुपर्ने उनले जोड दिए । उनले भने, ‘असली र नक्कली राजकुमार दिक्पाल छुट्टिने बेला यही हो । यो कुरा प्रधानमन्त्रीलाई थाहा छ । भ्रष्टाचारमा सम्झौता नगरौं । कसैको डर, धाक, धम्की, त्रास र लोलोपोतोमा परेर सम्झौता गर्न थाल्यौं भने हामीले राष्ट्रको आवश्यकता र जनताको चाहनालाई नेतृत्व गर्न सक्दैनौं । बरु कुर्सीमा पाँच दिन बसौं, इमानदारीपूर्वक काम गरौं ।’
नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुले सत्य आफैं बोलेको पनि मन्त्री किराँतीले बताए । उनले भने, ‘उपप्रधानमन्त्री भइसकेको र बहालवाला सांसदले कानुनको पालना गर्ने हो कि सम्पर्कविहीन भएर भाग्ने हो ? सत्य आफैं बोल्छ । धुरीबाट पाप कराउँदैछ । दुइटा पहरा ढालेपछि बाटो खुल्छ । सकेनौं भने हामीले छोड्नुपर्छ । समयले हामीलाई पर्खदैन ।’
भ्रष्टाचार अन्त्यका लागि कठोर कानुनको आवश्यकता पनि उनले औंल्याए । उनले भने, ‘मेरो चाहनाले मात्र भएन । कानुनलाई कठोर बनाउनुपर्छ । भ्रष्टाचारीलाई हेलिकप्टरबाट टुँडिखेलमा पछार्नुपर्ने क्या । पाँच-सात सय मानिसलाई त्यसरी पछार्ने र तिनका तीन पुस्ता काम नलाग्ने गरी ऐन-कानुन बनाउने हो भने भ्रष्टाचारको अन्त्य हुन्छ र समृद्धिको अभियान पनि सुरु हुन्छ । अब जनताप्रति रुवा बनेर लाग्ने र भ्रष्टाचारविरुद्ध सियो बनेर उत्रिनु जरुरी छ ।’ मन्त्री किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा लैजाने कोसिस भइरहेको पनि बताए ।
बुद्धजयन्तीका अवसरमा लुम्बिनी पुगेका मन्त्री किराँतीले लुम्बिनीलाई विश्वसामु नयाँ ढंगले ब्रान्डिङ गर्नुपर्ने बताए । उनले भने, ‘लुम्बिनीमा काम सुरु भएकै छैन । नयाँ ढंगले काम गर्न बाँकी छ । पुरातात्विक अध्ययनले ३५ सय वर्षअगाडि नै पुर्खाले लुम्बिनीमा बसाएको बस्तीको प्रचार गर्नुपर्छ । नेपालमा पर्यटन नीति, संरचना र संस्कृतिलाई पर्यटनमैत्री बनाउनु पर्छ ।  विश्व शान्ति, भातृत्व र समृद्धिका निम्ति सन्देश दिन सक्नुपर्छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot