Logo

मन्त्री बनाउँदा कांग्रेसमा असन्तुष्टि छैन : ढुंगाना



काठमाडौं, २२ वैशाख । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले सरकारमा तीन मन्त्री थपिँदा पार्टीभित्र कुनै असन्तुष्टि नभएको दाबी गरेका छन् ।
‘नेपाली कांग्रेस एउटा डेमोक्रेटिक पार्टी हो । पार्टीभित्र आआफ्ना धारणा राख्नु स्वाभाविक हो । यसलाई असन्तुष्टि भनिहाल्न मिल्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै ढुंगानाले भने ।
हिजो पार्टी पदाधिकारी बैठकमा मन्त्री बनाउँदा दलित, मधेसी र पिछडिएको क्षेत्रको प्रतिनिधित्व नभएको सम्बन्धमा सहमहामन्त्री जीवन परियार र सभापति शेरबहादुर देउवाबीच भनाभन भएको प्रसंगमा उनले भने, ‘दलित, मधेसी र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनु हुँदैन भन्ने होइन । हामीले संविधानले तोकेको सीमाभित्रै मन्त्री बनाउने हो । सरकारमा हरेक जातजाति, भाषाभाषीलाई समेट्ने कुरा हुन्छ । यसलाई विस्तारै म्यानेज गर्दै जानुपर्छ ।’
नेता ढुंगानाले नेपाली कांग्रेस कुनै पनि भ्रष्टाचारी जोगाउन नलाग्ने दाबी गरे । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा स्वागत गरिने पनि बताए । उनले थपे, ‘रास्वपाले चाहन्छ भने हामीले सरकार जाने ढोका बन्द गरेका छैनौं । यो १० दलको गठबन्धनको सरकार हो । रास्वपालाई हाम्रो स्वागत छ ।’ रास्वपालाई दिने मन्त्रालयको बारेमा गठबन्धनको बैठकमा निर्णय हुने पनि ढुंगानाको कथन छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot