Logo

भ्रातृ संगठनलाई पूर्णता दिँदै कांग्रेस



काठामाडौं, वैशाख २२ । नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी केन्द्रीय समिति र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्यमा जुटेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत मंसिरमा भएको निर्वाचन समीक्षा अहिलेसम्म नगरेको तथा पार्टी र प्रमुख भ्रातृ संगठनहरूका केन्द्रीय समितिलाई पूर्णता नदिएको भन्दै नेतृत्वको आलोचना बढ्दै गएका बेला पदाधिकारीहरू छलफलमा जुटेका हुन्।

सभापति शेरबहादुर देउवा निवासमा बिहीबार पदाधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा शुक्रबारसम्म नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलका केन्द्रीय समितिलाई पूर्णता दिने समझदारी बनेको छ। शुक्रबार बिहान पुनः छलफलमा बसेर निर्णयमा पुग्ने समझदारी पदाधिकारीहरूबीच भएको जानकारी एक नेताले दिए।

पार्टीभित्रका सबै गुट र समूहलाई समेटेर समितिहरू गठन गर्न नाम माग्दा नदिइएकाले अब नकुर्ने निष्कर्षमा पुगेको बताउँदै एक नेताले भने, ‘जति नाम आएका छन्, तिनैबाट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय समिति बनाउने प्रयास हुन्छ।’

२०७८ साल फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो। सोही बैठकले एक महिनाभित्र भ्रातृ संगठनका केन्द्रीय समितिलाई पूर्णता दिन सभापति देउवालाई अधिकार दिएको थियो। तर अहिलेसम्म प्रमुख भ्रातृ संगठनका अध्यक्ष तोकिए पनि केन्द्रीय समिति गठन भएका छैनन्।

भ्रातृ संगठनको विषय टुंगो लागेपछि पार्टीका विभागसहितका विषयमा छलफल केन्द्रित हुने ती नेताले बताए। पार्टी केन्द्रीय समितिका विषयमा पनि पदाधिकारी बैठकमा छलफल भएको जानकारी दिँदै ती नेताले भने, ‘पार्टी केन्द्रीय समिति बैठकको तयारी गरेर मिति तोक्ने कुरा भएको छ।’

२०७८ साल फागुन पहिलो साता बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका भ्रातृ संगठनका केन्द्रीय समिति भंग गरेको थियो।

कांग्रेस विधानमा केन्द्रीय कार्य समितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एकपटक बस्नुपर्ने व्यवस्था छ। तर मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेस केन्द्रीय समिति बैठक गत साउन २ गतेपछि बसेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा छ। तर केन्द्रीय समितिसहितका निकायले अहिलेसम्म पूर्णता नपाको आजकोे नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot