काठमाडौं, २२ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीले प्रहरी प्रमुखलाई समेत ढाँटेका छन् । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको गिरोहको संरक्षण गरेको गम्भीर अभियोग लागेका रायमाझी प्रहरी प्रमुख वसन्त कुँवरलाई झुक्याएका छन् । पक्राउ पुर्जी जारी हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीमा थिए ।
उनले प्रहरी प्रमुख कुँवरलाई फोन गरेर आफू छिट्टै सम्पर्कमा आउने जानकारी गराएको कुरा स्वयम उनको दलका अध्यक्ष केपी शर्मा ओलीले खुलासा गरेका थिए । ओलीले हिजो प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर सिंहदरबारबाट बाहिरिने क्रममा यो कुरा खुलासा गरेका थिए ।
रायमाझीले प्रहरी प्रमुख कुँवरसँग आफू यो प्रकरणमा संलग्न नभएको भन्दै चरित्र हत्या गर्न खोजिएको भन्ने गुनासो राखेको प्रहरीसम्बद्ध उच्च स्रोतको दाबी छ । रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । प्रहरीले हिजै उनलाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थपेर अनुशन्धान गरिरहेको छ । रायमाझीको विषयमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसमक्ष पनि चासो राखेका छन् । file photo