Logo

मिर्चैया नगरप्रमुख श्रवण यादवको चेतावनी : कानून र संविधानसम्मत् कदम चालेका छौं, दुःख दिने नियत नराख्नुहोस (भिडिओसहित)



काठमाडौं, २२ बैशाख । मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवले नगरपालिकाको कानूनसम्मत् कदमलाई लिएर गलत समाचार प्रवाह गरिएको भन्दै आपत्ति जनाएका छन् । यसअघि (गत बैशाख २०) गते सो नगरपालिकाका स्थानीयहरुले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै स्थानीय व्यापारी र वडाबासीहरुको वर्षौदेखि बसोबास रहँदै आएको मिर्चैयाको २ (क) को २५६ नम्बर र २ (ख) को ६० नम्बर जग्गामा बनेका पक्की घरहरु र भवनमा डोजर चलाउन मेयर यादवले आदेश दिएको आरोप लगाएका थिए । उनीहरुले मेयर यादवले शक्तिको दुरुपयोग गरी गलत कदम चालेको र आफूहरुको उठिबास लगाएको आरोप लगाएका थिए ।

त्यसको दुई दिनपछि आज (शुक्रबार) मेयर यादवसहितको मिर्चैया नगरपालिकाको टोलीले रिपोर्टर्स क्लबमै पत्रकार सम्मेलन गरेर स्थानीयहरुले लगाएको आरोपको खण्डन गरेको हो । नगरप्रमुख श्रवणकुमार यादवले जनताको हकमा नगरपालिकाले गर्नुपर्ने कामहरुमा केही बाधा आएको बताए । आफूहरुले चालेको पछिल्लो कदमलाई लिएर मिडियामा गलत कुरा आएको भन्दै उनले त्यसको स्पष्ट पनि पारेका थिए ।

नगरप्रमुख यादवले राज्यको स्वामित्वमा रहेका जग्गाहरु व्यक्ति र प्रयोग गरेको ठाउँहरुलाई खाली गराउने पहिलेकै कार्यकालमा पर्याप्त प्रयास भएको स्मरण गराए । ‘२५६ नम्बर कित्ता आजको डेटमा हाइलाइट भएको छ, ६० नम्बर कित्ता हाइलाईट भएको छ । तर मलाई के लाग्छ भने–जुन आन्दोलनकर्मी या त्यसको विरुद्धमा लागेको साथीहरुलाई म के भन्न चाहान्छु भने–तपाईंहरुपनि यसमा सहभागी हुनुहोस। त्यो घर खाली गराउने बेलामा सबैको साथ लिएर खाली गराऔं। सबै राजनीतिक दल मिलेर अगाडि बढौं । त्यो जग्गाको विषयमा हामीले २०७१ सालमै जतिबेला जनप्रतिनिधिविहिनको अवस्था थियो। नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकृतले जतिबेला नगरपालिका चलाएको अवस्थामा नै त्यो पोखरी १८ कठ्ठाको दाबी गरेको थियो व्यक्तिले, त्यो व्यक्तिहरु पनि पछि अदाmतमा गएर यो सरकारकै हो, यो नगरपालिकाकै हो भनेर मिलापत्र गरेर अदालतबाट मिलापत्र भएको छ।’

त्यसलाई खाली गराउन प्रयास हुँदा २०७२/७३ मा ‘यो जग्गा मेरो हो भन्दै’ केही व्यक्तिले फेरि उजुरी हालेको उनले स्मरण गराए । उक्त उजुरीअनुसार दाबी गर्दा २०७४ सालमा उच्च अदालत राजविराजले ती जग्गा नेपाल सरकारको हो भनेर फैसलासमेत गरिसकेको यादवको भनाई छ ।
उनले सोबारेमा जनताले जानुन् र जुन भ्रमहरु छरिएको छ सोबारे सत्य/तथ्य जान्न एक किताब नै बनाइसकेको बताउँदै उक्त दस्तावेजसमेत सार्वजनिक गरेका थिए । सो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले पनि सबै कागज हेर्दाखेरि आफूहरुको कदम वास्तविक र कानूनसम्मत् भएको भनेर भनेको पनि यादवले सुनाए ।

अदालको निर्णय र विगतका जनप्रतिनिधिका निर्णयहरु देखाउँदै अदालतले नै स्पष्ट पारिदिएको भन्दै उनले सोही निर्णय कार्यान्वयन गर्न अगाडि बढेको बताए।

‘अदालतले स्पष्ट पारेका अवस्थामा किन आन्दोलन गर्नुपर्यो ? यो कानूनी राज्य हो। सबैको निकाय हो, ठिक र बेठिक के हो भने सम्बन्धित निकायले निर्णय दिने हो।’–उनले भने पहिलाका जनप्रतिनिधिहरुले पनि सो विषयमा कार्यपालिकाबाट निर्णय गराएको हो।

उनले विगतमा घर तथा टहरा हुनेको पनि आफूहले निर्णय गराएको स्मरण गराए । तर, समयभित्र खाली नगरेपछि नगरपालिकाले भत्काउने भनेर प्रस्ट रुपमा निर्णय भएको यादवले सुनाए । उनले थपे–‘यसमा त्यही निर्णयानुसार हामी अगाडि बढ्दा कुनै त्यस्तो पठ्यारो देखेका छैनौं।’ जग्गा खाली गराउने सबै प्रकियाहरु भइसकेको बताउँदै उनले अहिले आन्दोलनमा रहेका व्यक्तिहरुले पनि सो कागजमा सहमति भइ हस्ताक्षर गरेको दाबी गरे ।

नगरप्रमुख यादवले आफूसँग पराजित भएका केही व्यक्तिहरुले अहिले यो विषयमा अनावश्यक रुपमा आन्दोलन गरेको पनि गम्भीर आरोप लगाए। विगतको कार्यकालमा पनि यस्ता आन्दोलन भएको बताउँदै उनले सो आन्दोलनलाई पनि जनताको बीचमा गएर सत्यतथ्य बताउँदै अगाडि बढेको दाबी गरे । आफ्नो मर्यादामा रहेर राजनीतिक संस्कार सिक्न उनले आग्रह गरे। उनले कसैको हस्ताक्षर गरेको विज्ञप्तीले नभइ संविधानले बोल्ने बताए।

‘२५६ नम्बर ६० नम्बरको कित्ताको कुरा गर्दा त्यो सम्मानित अदालतले बोलेको कुरा हो। त्यसमा जनतालाई भ्रममा नपार्नुहोस, जनतासँग जुन चाहीँ साना/साना टहराहरु हटिएको छ। जुन प्रकारको ६० हजार जनसंख्या भएको नगरपालिकामा सबैलाई सेवा दिने हिसाबले अगाडि काम बढाएका छौं। त्यसमा दुःख दिने नियत नराख्नुहोस,’ उनको आग्रह थियो ।

उनले नेपाल सरकारको जग्गा नेपाल सरकारकै कायम गराएर छोड्ने अठोटसमेत व्यक्त गरे । ती जग्गाका सबै रेकर्ड नेपाल सरकारको कार्यालयमा भएको पनि उनको भनाई छ ।

‘जिल्लामा व्यवस्थित् भएर अगाडि बढेको नगरपालिकालाई पछाडि पार्ने कोशिस भएको छ। त्यलाई समन्वय गरेर ब्यवस्थित गरेर अगाडि बढौं। २१औं शताब्दीमा सबैको अधिकार छ। चौतर्फी सबै वडा–वडामा जनतालाई भ्रममा पारेको छ। मेयरले आफ्नो आसेपासेलाई त्यो जग्गै पास गरिदियो, मेयरले सारा बिगार्यो। सारा भ्रष्टाचार गर्यो। म भन्छु–हामी सँगै चुनाव लडेका हौं। तपाईंहरु र म, हामीसँगै चुनाव लडेका हौं, तपाईंहरुलाई जनताले हराएको र म दोस्रो चोटी जनताले मत दिएको उनले दाबी गरे।’

उनले सबै मिलेर नगरको विकासको लागि राम्रो काम गर्न आग्रहसमेत गरे । मिर्चैया नगरवासीले आफूलाई जुन माया अनि ममता दिएर नेतृत्वमा पुर्याएको हो त्यसमा आफू जिम्मेवार भएर लागिपरेको पनि उनको भनाई छ ।

यस्तै, नगरपालिकाका निमत्त प्रमुख प्रशासकिय अधिकृत विजयकुमार महतोले नगरपालिका व्यवस्थापनका लागि आफूहरु अगाडि बढेको उल्लेख गर्दै नगरपालिका कार्यालयहरु विषयबस्तुहरु राखेर छलफल गर्नुपर्ने र सो विषयबस्तुहरुप्रति नगरपालिका गम्भिर भएको बताए ।

उनले भने,‘व्यवस्थित् रुपमा अगाडि बढाउनुपर्नेमा कार्यालयमा प्रत्येक दिन नारा तथा जुलुस गर्ने, अपशब्द प्रयोग गर्नेलगायतका विषयबस्तुहरुले सहज रुपमा काम गर्ने वातावरण छैन। कर्मचारीहरुलाई काम गर्ने क्रममा धम्कि आउने, डर अनि त्रास देखाउने, शाखा प्रमुखहरुलाई गलत किसिमको व्यवहार गर्नेलगायतका गतिविधिहरु भएका छन् । यी सबै कुरा निन्दनीय छन् । यसखालको गतिविधिहरु हुनुहुँदैन। कुनैपनि समस्या आयो भने त्यसको समाधान टेबुल–टकबाट गर्नुपर्छ।’

नेपाल सरकारका ऐन, नियमहरुलाई टेकेर नगरपालिका उनीहरुका समस्या समाधान गर्न तयार रहेको उनको भनाई छ । अदालतले पनि नगरपालिकाको पक्षमा फैसला गरेको बताउँदै उनले भने,‘अदालतको फैसलामा टेकेर हामीले रोड विस्तार गर्ने, घर तथा टहराहरु हटाउनेलगायतका व्यवस्थापनको कार्यहरु अगाडि बढाएका छौं। त्यसकारणले यसमा कुनै अवरोध नगर्न पनि म यहीँबाट हार्दिक अनुरोध गर्दछु।’

केही कुराहरु भए बसेर छलफल तथा परामर्श गरेर ठोस समाधान निकालिने उनको प्रतिबद्धता छ । स्थानीय सरकार सञ्चालन ऐनबमोजिम नै विभिन्न ठाउँमा नयाँ रूपमा अगाडि बढ्ने प्रयास गरेको र नगरपालिकाबाटै २५ शैयाको अस्पताल सञ्चालन गरेको उनले बताए। स्वास्थ्य सेवामा उल्लेख्य सुधार गरेको उनको दाबी छ । उनले आफूहरुको यस कार्यमा सम्पूर्णको साथ र सहयोगको अपेक्षा गरेको र हालसम्म सहयोग गर्ने सबैप्रति धन्यावाद ज्ञापन गरे ।

विकास निर्माणका काम र शिक्षा क्षेत्रको विकासले गति लिइरहेको बताउँदै उनले अप्ठ्यारो नगर्न र अप्ठ्यारोले विकास निर्माणका कार्यलाई पछि धकेल्ने खतरा औंल्याए । पत्रकार सम्मेलनमा मिर्चैया नगरपालिका नगरप्रमुख श्रवणकुमार यादव, कर्जन्हा नगरपालिकाका पूर्व नगर प्रमुख गंगा पासवान, मिर्चैयाका निमत्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार महतोलगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्