काठमाडौं, वैशाख २३। पोल्ट्री व्यवसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका अर्का व्यवसायी प्रदीप रुङ्गटालाई पक्राउ नगरिएको भन्दै आज चितवन बन्द गरिएको छ।
चितवन बन्दको प्रभाव पूर्वपश्चिम राजमार्ग क्षेत्रमा परेको छ । आज विहानैदेखि राजमार्गमा सवारी साधान सञ्चालन नहुँदा लामो जाम परेको छ ।
शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वानमा नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा बन्दकर्ता जम्मा भएर गाडी चलाउन रोकेका छन्।
बन्दकर्ता आफूहरू मोटरसाइकलमा हिँडेका विभिन्न ठाँउमा पुगेर बन्द गराइरहेका छन् । पश्चिमबाट आउने सवारी साधनलाई गैंडाकोटमा नै रोकिएका छन् ।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गर्दा छाडेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत सेयर भएका प्रदीप रुङ्गटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।
परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । उनीहरु विरुद्ध पक्राउ पूर्जीसमेत जारी गरिएको छ । जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् ।