काठमाडौं, २३ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझी मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आज(शनिबार)पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।
अध्यक्ष ओलीले हिजो(शुक्रबार) प्रधानमन्त्री प्रचण्डलाई भेट्ने कार्यक्रम तय भएको थियो। तर, प्रधानमन्त्री प्रचण्डको समय ब्यस्तताको कारण सो कार्यक्रम स्थगित् भएको थियो।
अध्यक्ष ओलीले बिहीबारपनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिव रायमाझीको बारेमा कुरा गरेको बताइएको थियो। उनले भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न नहुने र दोषी उम्किनु नहुने बताएका थिए।
यसैबीच अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।
आजको भेटवार्तामा नक्कली भुटानी शरर्णाथी प्रकरण र अगामी बजेट बारे कुरा भएको बताइएको छ।
आफ्नै पार्टी सचिव नक्कली भुटानी शरर्णाथी प्रकरणमा मुछिएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवाद बढाइरहेको प्रचण्ड निकट स्रोतले बताएको छ।
सो प्रकरणमा सचिव रायमाझीमाथि जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छभने उनका छोरा सन्दीप रायमाझीलाई बिहीबार प्रहरीले पक्राउगरि थप अनुसन्धानका लागि अदालतबाट बिहीबार नै ३ दिनको म्याद थप गरिसेको छ।
टोपबहादुर भने हालसम्म प्रहरीको फरार सूचीमा रहेका छन्।
file photo