Logo

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रघात हो, यसमा संलग्नलाई नयाँ कानून बनाएर भएपनि कडा सजाय दिनुपर्छ : राजकिशोर यादव



काठमाडौं, २३ बैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी ठगी प्रकरण राज्यविरुद्धको गम्भीर अपराध भएकोले दोषी जोसुकै भएपनि उनीहरुलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘नेपाली समाजमा भ्रष्टाचार एउटा अंग भनेर बसेको जस्तो छ, हामी सबैले भ्रष्टाचार भैरहेको छ भनेर चिन्ता जाहेर गरेका छौं । तर, कसरी यसलाई निर्मुलीकरण गर्ने भन्नेबारे ठोस पहलकदमी नभएको कारण नेपाली समाजमा राजनीतिक नेतृत्वप्रति आक्रोश छ । हुँदाहुँदै व्यवस्था नै खतरामा पर्छ कि भन्ने चिन्ता पनि लागेको छ । जहाँसम्म भ्रष्टाचार निर्मूलीकरणको विषय छ, यो समाप्त हुनैपर्छ । यो हामीले गर्नैपर्छ ।’

यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राष्ट्रघातको संज्ञा दिए । उनले भने, । उनले भने,‘यो एकप्रकारको राष्टघात र दशेद्रोह हो । यो राज्यसत्ताको विश्वसनियतामाथिको प्रश्न हो । नेपाली समाजमा कानूनी राज्य, विधिको शासन लागु गर्ने जिम्मा लिएर बसेका नेतृत्वहरु नै यो प्रकरणमा संलग्न भएपछि नेपाली राज्यसत्तालाई कुन दृष्टिले हेर्ने भन्ने कुरा छ । यो भ्रष्टाचारमात्रै होईन । यो महाअपराध हो । यसलाई छुट दिनुहुँदैन् ।’

उनले उक्त प्रकरणमा संलग्नलाई राजनीतिक उन्मुक्ति दिने काम कुनै दलबाट भयो भने ती दल नै समाप्त हुने चेतावनी दिए । उनले भने,‘मलाई लाग्छ अब यो प्रकरणमा दोषीलाई बचाउन जो लाग्छ, उसलाई दुनियाँको कुनै शक्तिले बचाउन सक्दैन् । अब नेपाली समाज जागिसकेको छ । जनता जागिसकेको अवस्था छ । प्रभावशाली व्यक्ति वा नेतृत्व नै किन नहोस, यदि यो वा त्यो नाममा आफ्नो मान्छे, आफ्नो पार्टी अनि नजिकको मान्छे भनेर बचाउन खोजियो भने र कुनै पार्टी लाग्यो भने त्यो पार्टी नै सकिन्छ । नेता लागे नेता पनि सकिन्छन् । र, यो सकाउनुपर्छ ।’

यादवले भ्रष्टाचारजस्तो रोगलाई समाप्त नपारीकन व्यवस्था बचाउन नसकिने पनि चिन्ता व्यक्त गरे । उनले भने,‘भ्रष्टाचारजन्य रोगलाई समाप्त नपारी हामी अब यो व्यवस्था पनि बचाउन सक्दैनौं । यो जुनप्रकारको हामीमाथि प्रश्नचिन्ह खडा भएको छ, बास्तवमा गम्भीर प्रश्न खडा भएको छ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने हामी युवा पुस्ताका नेता पनि हौं । गल्ती अरुले गर्ने अनि त्यसको भारी र दोष हामीले पनि खेप्नुपर्ने ? यो हाम्रो लागि बडो चिन्ताको विषय हो । केही गलत मान्छेको कारण समग्र राजनीति बदनाम भएको छ ।’

उनले अहिलेको भ्रष्टाचार प्रकरणमा अनुसन्धान प्रक्रियालाई सघाउनुपर्नेमा जोड दिए । उनले थपे–‘यसमा जस्तोसुकै प्रभावशाली या ठूला, सानो माछा समातिन्छन् अनि ठूला समातिँदैनन् भन्ने कथन थियो, अब ठूला माछापनि समातिनेगरि सबैले भूमिका खेलौं । क्यान्सररुपी यो भ्रष्टाचारको रोगलाई भगाउनुपर्छ ।’

उनले अहिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि सुशासनको पक्षमा काम गर्ने ऐतिहासिक अवसर भएको सुनाए । उनले भने,‘प्रधानमन्त्रीज्यूलाई पनि यो ऐतिहासिक अवसर हो । यहाँले हिजो जनयुद्ध र परिवर्तनको अगु्वा गर्दै गर्दा नेपाली समाजलाई त्यसको औचित्य पुष्टि गर्नुछ भने कुनै दबाब र प्रभावमा नपरी, अनि खुट्टा नकमाईकन, लोभ र लालचमा नफसी यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । जुन पार्टीका भएपनि कानूनी कठघरामा ल्याउनुपर्छ । नयाँ कानून बनाएर भएपनि यिनीहरुलाई कडा सजाय दिनुपर्छ । यसलाई एउटा क्राईमको रुपमा लिएर अघि बढ्नुपर्छ ।’

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा साहसिक कदम चालेको भन्दै प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिकाको प्रशंसा गरे । र, उनले प्रधानमन्त्री, गृहमन्त्रीलगायत अनुसन्धानमा लागिपरेका सबैलाई सहयोग पुर्याउनुपर्ने आवश्यकत्ता पनि औंल्याए ।

उनले भने,‘यो राष्ट्रधर्म परमकर्तव्य हो भनेर वोध गरेर यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । यसपटक पनि, यसबाट ठूला पार्टीका ठूला नेताहरु, लहरो तान्दा पहरो जाने कुरा हेडलाईन आएका छन् । प्रभावशाली, बलिया, अवैध रुपमा सम्पत्ति आर्जन गरेकाहरु फस्ने कुरा छ, यसबाट अनुसन्धान प्रभावित हुने त होईन भन्ने कुरा छ, यो त पार्टीहरुको लागि पनि परीक्षा हो । राजनीतिक जीवन बचाउनुछ भने कुनै पनि प्रभावमा नपरी यसको जरोसम्म पुगेर, दुधको दुध अनि पानीको पानी छुट्याएर यसमा संलग्न सबैलाई कानूनी कारबाहीमा ल्याउनुर्पछ ।’

उनले आफ्नो दल सोह«ै आना उक्त अनुसन्धानमा सहयोग गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘हामी कुनैपनि कारणले यो अनुसन्धानको विषय गडबड नहोस भन्नेमा सचेत छौं । टाउको माथिबाट भ्रष्टाचार निर्मुल पारौं ।’



प्रतिक्रिया दिनुहोस्