काठमाडौं, २३ बैशाख । नेकपा (माओवादी केन्द्र) की नेतृ तथा पूर्वमन्त्री कल्पना धमलाले नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको राष्ट्रियता, स्वाभिमान र स्वाधिनतामा पनि खलल पुर्याएको भन्दै यसमा संलग्न दोषीहरुमाथि कडा कारबाही हुनुपर्ने बताएकी छिन् ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्–‘नागरिकले चाहेको सुशासन यो सरकारले दिनसक्छ, र दिन्छ भन्ने विश्वस्त बनाउनको निम्ति प्रचण्ड सरकार, प्रधानमन्त्री र गृहमन्त्रीज्यूले नक्कली शरणार्थी प्रकरणमा कारबाही प्रक्रिया अघि बढाउनुभएको छ । यसलाई निश्कर्षमा पुर्याउनुपर्छ । दोषीमाथि कडा कारबाही हुनुपर्छ ।’
उनले अहिले भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म मौलाएको सुनाईन् । उनले भनिन्–‘भ्रष्टाचार त नीतिगत रुपमा मौलाएको छ, राजनीतिक आडमा मौलाएको छ । अर्को, स्थानीय तहको विकास निर्माणमा गरिने, सार्वजनिक खरिद ऐनमार्फत धेरै भ्रष्टाचार मौलाएका छन् । खुलमखुला आयोजनाको लागत अनुमान धेरै गर्ने अनि भ्रष्टाचार गर्ने काम भएका छन्, राजनीतिक संरक्षणकै कारण भ्रष्टाचार मौलाएको छ । नागरिकले दललाई भ्रष्टाचारीको संज्ञा दिन थालेका छन् । कसले भ्रष्टाचार गरेको छ भनेर देखाउन पनि सकेको छैन् । हामीले जीवन नै राजनीतिमा दिएको हो । राजनीति गर्नेबित्तिकै भ्रष्टाचारी भनिने गरिएको छ । मिडिया क्षेत्रले रातोलाई रातो अनि कालोलाई कालो भनिदिए सरकारले थालेको कामले सार्थकता पाउँछ ।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सरकारले अनुसन्धान थाल्दा राजनीतिक हस्तक्षेप भएको संकेत गरिन् । उनले थपिन्–‘सरकारले केही काम सुरु गर्यो, यहाँ हस्तक्षेप भएको छ । यो नक्कली शरणार्थी प्रकरण तुहिँदैन् । प्रधानमन्त्रीज्यूले म जस्तोसुकै दबाब थेग्न तयार छु भन्नुभएको छ । पार्टीको तर्फबाट म पनि प्रतिबद्धता जनाउन चाहन्छु कि अब सबै भ्रष्टाचारका फाईल खोलिनुपर्छ । जुन पार्टीको भएपनि भ्रष्टाचार गर्नेलाई संरक्षण गर्नुहुँदैन् ।’
उनले भ्रष्टाचारको जालो अब च्यात्नुपर्ने बेला आएको बताईन् । उनले भनिन्–‘कसैले पनि लामो हात गर्ने नसोचोस । कानूनी कठघरामा उभिने डर राखोस । अब मुलुकमा भ्रष्टाचारको अन्त्य हुने ढोका खुलेको छ । जहाँसम्म भुटानी शरणार्थी प्रकरणको कुरा छ, यो भ्रष्टाचारमात्रै होईन । यो राज्यविरुद्धको गम्भीर अपराध हो । राष्ट्रघात हो । आफ्नो स्वाभिमान, स्वाधिनता बेचेर नक्कली शरणार्थी खडा गरेर विदेश पठाउने काम भएको छ, यसलाई भ्रष्टाचारको रुपमा मात्रै व्याख्या नगरियोस । यसले राष्ट्रिय स्वाधिनतामा खलल पुर्याएको छ । गलत गर्नेहरु सजायको भागिदार हुनुपर्छ ।’
उनले प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले चालेको कदम सफल होस भन्ने शुभकामना पनि दिईन् । उनले भनिन्–‘यो प्रकरणमा अनुसन्धानमा कहीँकतैबाट अवरोध नहोस । दोषीलाई सजाय दिनुपर्छ । निर्दोषलाई उन्मुक्ति दिनुपर्छ । सबैको भूमिका यसप्रति सकारात्मक हुन जरुरी छ । नेपालको भ्रष्टाचारको अन्त्य गर्ने कुरा गर्दा सबैबाट पनि सकारात्मक सोच र दायित्व उत्तिकै महत्व हुनुपर्छ ।’