काठमाडौं, २४ वैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई उन्मुक्ति दिन सत्तापक्ष र प्रतिपक्ष मिलेको आरोप लगाएका छन् ।
‘दुःखको कुरा के भने, नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र विपक्षले नै मिसिएका छन् । केही दिन होहल्ला गर्छन्, पहिले पहिलेका केसझैं सामसुम पार्छन् । आफैं धामी, आफैं बोक्सी भएपछि कहाँबाट कारबाही हुन्छ ? मिया बिबी राजी तो क्या करे काजी ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै केसीले भने । साथै उनले अदालतदेखि आयोगसम्म ‘सेटिङ’मा चलेकाले दोषीमाथि कारबाहीको गुन्जायस नभएको पनि औंल्याए ।
आफ्ना नेता कार्यकर्ताले जे गरे पनि नेतृत्व नै चोख्याउने प्रवृत्ति घातक रहेको केसीले बताए । उनले थपे, ‘वाइडबडी काण्ड, ओम्नी काण्ड, सुन काण्डमा पनि सुरुमा निकै हल्लाखल्ला गरे । त्यस्तै अर्को घटना आएपछि जनताले बिर्सिए । पार्टीहरु घुस्याहा र भ्रष्टाचारीको कन्टेनर भए । आफ्ना नेता कार्यकर्ताले जे गरे पनि नेतृत्व नै चोख्याउन हिँडेको छ । जुन औंलामा बिष लाग्छ, त्यही औंला झर्नुपर्छ ।’
नेता केसीले लोकतन्त्रलाई व्यवस्था ल्याउनेबाटै खतरा भएको पनि औंल्याए । साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टी भनेजस्तो मन्त्रालय नपाए पनि सरकारलाई दिएको समर्थन थुत्ने जात्रामा लागेको आरोप पनि लगाए ।