Logo

एमाले प्रमुख सचेतक भन्छन्– प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी नेताबीचको भेटघाटलाई लिएर हंगामा गर्नुपर्ने के छ ?



काठमाडौं, २४ वैशाख । प्रतिनिधिसभामा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेरो पक्षमा विश्वास छ भन्ने संसदको सामना गर्नु लोकतान्त्रिक हुने औंल्याएका छन् ।
‘प्रधानमन्त्रीले विश्वासको मत लिने वा नलिने भन्ने कुरा राजनीतिकभन्दा पनि कानुनी प्रश्न हो । कुनै दलले दिएको समर्थन फिर्ता लिन्छ भने प्रधानमन्त्रीले मेरो पक्षमा विश्वास छ भनी सदनको फेस गर्नु बढी लोकतान्त्रिक हुन्छ । विश्वास छ भने फेस गर्न किन डराउनुपर्यो ? तर उहाँ संसदबाट भाग्न खोजिरहनुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै गिरीले भने । उनले संसदको आजबाट सुरु हुने बजेट अधिवेशनमा आफ्नो पार्टी सरकारलाई आम जनताप्रति जवाफदेही बनाउन लाग्ने पनि बताए ।
प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्रीबीचको भेटघाट नियमित भएको बताए । उनले भने, ‘केपी शर्मा ओली र प्रधानमन्त्रीबीचको भेटघाट कुन अनौठो भयो र ? यो नियमित भेटघाट हो । यसमा हंगामा गर्नुपर्ने के छ ? आजबाट बजेट अधिवेशन चल्दैछ । मुलुक आर्थिक संकट छ । मुलुकका सामु रहेका तमाम समस्याको समाधान कसरी गर्ने भन्ने सन्दर्भमा हामीले स्पष्ट हुन चाहेका हौं ।’
पार्टी सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई बचाउन एमाले नलागेको दाबी पनि उनले गरे । गिरीले भने, ‘भुटानी शरणार्थीमा जो जसले अपराध गरेका छन्, त्यसमा ढाकछोप गर्न एमाले लाग्दैन । प्रचण्डले एमालेबाट मलाई संरक्षण गर्नका निम्ति दबाब दिएको छ भनेको पनि सुनेको छैन ।’ यस्तो बेला एमाले अध्यक्षले प्रधानमन्त्रीलाई भेट्नु उचित हुन्छ र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, यो अत्यन्त सकारात्मक कुरा हो नि ।
दुईदुई महिनामा सरकार परिवर्तन गरिरहने फोहोरी खेलमा एमाले नलाग्ने पनि गिरीले बताए । उनले भने, ‘बाहिर एउटा कुरा आएको हुन्छ, भित्र अर्कै हुन्छ । हामी सरकार ढाल्ने र उठाउने खेलमा समय बरबाद गर्दैनौं । हामी कहिले पनि सत्ताका लागि मरिहत्ते गर्दैनौं । उपेन्द्र यादव र रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने हाम्रो मिसन होइन ।’



प्रतिक्रिया दिनुहोस्