रामेछाप, वैशाख २५ । अचेल मोहनबहादुर महत (६६) र उनकी श्रीमती रामकुमारी कार्की (५०) महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडीसँगै उनीहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेसाले जीवन गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोस चलेको छ ।
ईसीडीमा र कक्षा २ मा पढ्ने सानी छोरी डो¥याउँदै लिखु तामाकोसी गाउँपालिका–४ बिजुलीकोटमा रहेको भृंगेश्वर माध्यमिक विद्यालय धारापानी पुग्छन् महत दम्पती ।
मोहनबहादुर र रामकुमारीजस्तै जानुका महत र वैकुण्ठ महतका दम्पती र धनबहादुर र प्रमिला महतका दम्पती पनि सँगसँगै विद्यालय जान्छन् । बालापनमा पढ्न नपाएको गुनासो छ, मोहनबहादुरको । ‘बालखैमा पढ्न त मन थियो नि पाइएन । अब यही उमेरमा भए पनि पढाइको तिर्सना मेट्न मन लाग्यो ।’ मोहनबहादुरले भने ‘पढाइबिना केही नहुने रहेछ भनेर यो उमेरमा बुझियो ।’
महत दम्पतीजस्तै महिला स्वयंसेविका पनि विद्यालयमा भर्ना जान थालेका छन् । नेपाल सरकारले महिला स्वयंसेविकाको शैक्षिक योग्यता कक्षा ८ पास अनिवार्य गरेसँगै महिला स्वयंसेविका जानुका महत र पार्वती महत पनि विद्यालय भर्ना भएका हुन् । सधै सानो छोरो लिएर विद्यालय आउने र दिनभरि छोरो कुरेर बस्ने निर्मला तामाङ पनि छोरो पढ्ने विद्यालयमै भर्ना भएकी छन् ।
महत दम्पतीजस्तै अन्य पाको उमेरका पनि विद्यालय भर्ना भएको भृंगेश्वर माध्यमिक विद्यालय धारापानीका प्रधानाध्यापक केवलबहादुर तिमल्सेना बताउँछन् । उनका अनुसार १२ जना पाको उमेरका विद्यार्थी यसपालि विद्यालयमा भर्ना भएका छन् । राजधानी दैनिकबाट