Logo

कामपाका अव्यवस्थित गन्जागोल तार आजबाट हटाइने



काठमाडौंं, वैशाख २५ । काठमाडौं महानगरपालिकाले आजबाट बिजुलीको पोलमा राखिएका अनावश्यक तार हटाउने भएको छ । महानगरको प्रहरी टोलीले आज माइतीघरदेखि त्रिभुवन विमानस्थलसम्म र न्युरोडगेटबाट वसन्तपुर, असन, कमलाक्षी र भोटाहिटीसम्मको तार हटाउन लागेको हो ।

कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजधानीको ११ क्षेत्रबाट तार हटाइने जानकारी दिँदै भने– ‘सम्भवतः आजै सोमबार नेपाल दूरसञ्चार प्राधिकरणले सबै केवल प्रदायक संस्थालाई तार हटाउन सार्वजनिक सूचना जारी गर्नेछ । प्राधिकरणले सूचना जारी गरेपछि हामी आजैबाट तार हटाउन शुरू गर्नेछौं ।’ यसअघि यही वैशाख ११ गते कामपाले सडक किनारामा भएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा संकेत चिह्न लगाउन सार्वजनिक सूचना जारी गरेको थियो ।

तार हटाउन आग्रह गर्दै मेयर साहले सहरी व्यवस्थापनसँग सम्बन्धित यसअघिका समस्यालाई यथावत् राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त नहुने भएकोले आफ्नो क्षेत्राधिकारभित्रको काम गर्ने बताएका थिए। उनले यसबाट कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्ने भए पनि कामपाबासीले कामपालाई साथ दिने अपेक्षा राख्दै शहरको सौन्दर्य मास्ने अव्यवस्थित तार हटाउन नगर प्रहरीलाई निर्देशन दिइसकेका छन् ।

कामपा प्रहरी प्रमुख पाण्डेका अनुसार माइतीघरदेखि कलंकीसम्म, माइतीघर, पुतली सडक हुँदै नारायणहिटीसम्म, त्रिपुरेश्वर हँुदै महारागञ्जसम्म, लैनचौर हुँदै बालाजुसम्म, डिल्लीबजार, बालुवाटार हुँदै शीतल निवाससम्म, डिल्लीबजार हुँदै अनामनगरदेखि संसद् भवनसम्म, सोह्खुट्टे हुँदै अस्कल क्याम्पससम्म, सोह्खुट्टे नयाँबजार हुँदै क्षेत्रपाटीसम्म कुलेश्वर हुँदै बल्खुसम्म र सिनामंगल हुँदै शंखमूलसम्मको तार हटाइने भएको छ । अनावश्यक तार हटाउन लामो समय लगाएर नक्साङ्कन गरिएको जिकिर गर्दै केही दिनको लागि कामपाका चारवटै क्षेत्रका प्रहरी अव्यवस्थित तार हटाउन परिचालन गरिने गरिन लागेका आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्