काठमाडौं, वैशाख २५ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ ।
गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
गत असार साउनमा मूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो । इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपैयाँ पुगेको पुगेको थियो ।
गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएपछि निगमले हाल ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ । विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुक्ता गर्न सफल भएको निगमले जनाएको छ ।
तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि निगमले टेकुमा रहेको आफ्नै जग्गा धितोमा राखेर तीन अर्ब रुपियाँ राष्ट्रिय वाणिज्य बैङ्क र सरकारले निर्णय गरेर निगमले सार्वजनिक वित्त व्यवस्थापनबाट सात अर्ब रुपियाँ ऋण लिएको थियो । नेपाल सरकारको पाँच प्रतिशत ब्याज र आइओसीको ७।१ प्रतिशत ब्याज तिर्दै आएको निगमले जनाएको छ ।
निगमले हालसम्म आइओसीको बक्यौता तिर्न बाँकी रकमको ७.१ प्रतिशत ब्याजबापत ७० करोड रुपैयाँ र सरकारको १८ करोड रुपैयाँ ब्याज बुझाएको जनाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कमा जग्गा राखेर निकालेको तीन अर्ब ऋण भने निगमले चुक्ता गरिसकेको छ । सरकारले सात अर्ब ऋण भने पहिलो किस्ताबापत ७० करोड रुपैयाँ मात्र तिरेकोसमेत निगमले जनाएको छ । गोरखापत्र दैनिकबाट