Logo

नक्कली शरणार्थी प्रकरणमा नक्कली अभियुक्त खडा नगरौं : कांग्रेस नेता



काठमाडौं, २५ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना प्रमाण कसैको चरित्रहत्या गरिनु नहुने बताएका छन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा विश्वसनीय अध्ययन, अनुसन्धान र जाँझबुझ आवश्यक छ । त्यस क्रममा तथ्य र प्रमाणबाट जो कोही तानिन सक्छ । तर बिना प्रमाण कसैको चरित्रहत्या गरिनुहुँदैन । आवेगमा आएर वा आग्रह पूर्वाग्रह राखेर कुनै पनि व्यक्तिलाई हचुवा किसिमले बदनाम गर्न मिल्दैन । कानुन बमोजिम हुने कुरालाई मेरो वा अरुको पार्टीको मान्छे भन्ने कुरा आउँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
सञ्चारमाध्यममा दोषीलाई जोगाउन निर्दोषको नामका मुछ्ने गरिएको आरोप पनि उनले लगाए । विश्वकर्माले भने, ‘हामी सबैले अनुसन्धान र कारबाहीमा सहयोग गर्नुपर्छ । तर सञ्चारमाध्यमले पनि यस्ता संवेदनशील अनुसन्धानमा भरपर्दा र विश्वसनीय सूचना मात्र सार्वजनिक गर्नुपर्छ । यहाँ दोषीलाई जोगाउन निर्दोषको नामका मुछ्ने र फोटो छाप्ने काम गरिएको छ । लहैलहै र कानेखुसीका भरमा सञ्चारमाध्यममा लेख्दा र बोल्दा संयम अपनाउनुपर्छ ।’
साथै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठकमै दोषीलाई बचाउन कोही पनि नलाग्नु भनेर निर्देशन गरिसकेको पनि बताए । उनले भने, ‘जसरी भुटानी शरणार्थी नक्कली छ, त्यसैगरी नक्कली अभियुक्त देखाउने काम नगरौं ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गर्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुत्नै नसकेको आरोप पनि उनले लगाए । विश्वकर्माले भने, ‘उहाँले बहालवाला सांसदलाई पक्राउ गर्न पाइँदैन भन्नुभएको छ । एयरपोर्टबाटै फरार गराएर प्रधानमन्त्रीकहाँ धाइरहनुभएको छ ।’ मुलुकले नयाँ कोर्स लिन लागेका बेला अनुसन्धानमा अवरोध गर्नु नहुने उनले औंल्याए ।
कांग्रेस नेता विश्वकर्माले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक अगाडि बढाउन सक्ने संकेत पनि गरे । उनले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । त्यो महिला होस् कि पुरुष, भण्डारी होस् वा पौडेल । उहाँको टेबुलमा थाती रहेको र पेन्डिङ भएको काम हसन सक्छ ।’ तर संविधानविपरीत काम गर्न कसैले पनि गर्न नमिल्ने उनले बताए ।
नेकपा एमालेले शान्तिप्रक्रिया टुंग्याउन नमानेको र नागरिकता विधेयक प्रमाणित गर्न नदिएर चुनावी फन्डा बनाएको आरोप पनि विश्वकर्माले लगाए । उनले भने, ‘संसदले संविधानले भने बमोजिम पटकपटक नागरिकता विधेयक पारित गरेर पठाएको हो । संविधान विपरीतको कदममा बहुमत पुगेको भए राष्ट्रपतिलाई महाभियोग लाग्ने थिया । एउटा राष्ट्रपतिले संविधान उल्लंघन गरेपछि अर्कोले सच्चाउन सक्छ ।’ साथै उनले संविधानको धारा १००(२) अनुसार सरकारले विश्वासको मत लिनु नपर्ने पनि बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot