Logo

चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा



तनहुँ, २५ वैशाख । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको हो ।

सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए ।

चालु आवमा बेसारघारी सिँचाइ योजनाबाट ३५, पुनःस्थापना कार्यअन्तर्गत ३५, लोकादिटार सिँचाइ योजनाबाट २३ र ठूलाफाँट सिँचाइ योजनाबाट १२ हेक्टर क्षेत्रफलमा सिँचाइ पु¥याइएको हो । जिल्लाको कूल एक लाख ५४ हजार छ सय हेक्टर क्षेत्रफल रहेकामा अझै ३७ हजार पाँच सय ५१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गर्न बाँकी रहेको उनले बताए ।

जिल्लामा कार्यान्वयनमा रहेका महत्वपूर्ण योजना नौ रहेका छन् । त्यसमा छ योजनाको कार्यसम्पन्न भइसकेको, दुई निर्माण प्रक्रियामा रहेका र एक योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

उनका अनुसार रु तीन करोड ८१ लाखको लागतमा भीमाद–१ र घिरिड–२ स्थित डुम्रेबेँसी सिँचाइ योजना, रु एक करोड ८९ लाखमा शुक्लागण्डकी–९ को मालेबगरस्थित पहाडखोला घाट र बस्ती संरक्षण, रु एक करोड १८ लाखमा भीमाद–५ को बुडुवाफाँट मालेबगर सिँचाइ योजना सम्पन्न गरिएको छ ।

त्यसैगरी रु एक करोड २९ लाखमा शुक्लागण्डकी–१० स्थित लोकदीटार सिँचाइ योजना, रु एक करोड २१ लाखको लागतमा देवघाट–१ स्थित बेसारघारी सिँचाइ योजना र रु ७९ लाख ४८ हजारको लागतमा भीमाद–७ को सिस्नेरी ठूलाफाँट योजना सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot