काठमाडौं, वैशाख २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ‘हाई प्रोफाइल’ व्यक्ति आरोपले डामिन थालेपछि अनुसन्धान प्रभावकारी हुनेमा शंका उत्पन्न हुन थालेको छ। प्रकरणसँग एकपछि अर्को गर्दै आधा दर्जनभन्दा बढी हाई प्रोफाइल व्यक्तिको नाम जोडिएको सार्वजनिक हुन थालेपछि अनुसन्धानमा आशंका उत्पन्न भएको हो।
यस विषयमा नेपाल प्रहरीका पूर्वअधिकारीहरू नै बढी संशय व्यक्त गरिरहेका छन्। ‘प्रहरीले अहिलेसम्म गरिरहेको अनुसन्धान स्यालुटयोग्य छ। प्रहरीले पूर्वउपप्रधानमन्त्री र सरकारका बहालवाला सचिवलाई नै कस्टडीमा तानी अनुसन्धानको दायरामा ल्याएको छ,’ नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘तर म पहिलो दिनदेखि नै भनिरहेको छु, जसरी भिआइपीहरूका नाम आइरहेका छन्। त्यसले कतै अनुसन्धानलाई प्रभावित पार्ने त होइन ? मलाई लाग्छ, पछिल्ला दिनमा यसको खतरा झन् बढेको छ।’
प्रहरी अनुसन्धान राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहन नसक्ने पूर्वडिआइजी मल्लले बताए। ‘जब आरोपितमा भिआइपीको प्रवेश हुन्छ। शक्तिकेन्द्रको इन्ट्रेस्ट पनि बाझिन थाल्छ। त्यसले सरकार नै डगमाउने स्थिति भएपछि प्रहरीमाथि हस्तक्षेप आइलाग्छ। त्यहाँ को अधिकारी छ भन्ने हुँदैन। म नै भए पनि हस्तक्षेपमा पर्न सक्छु,’ उनले भने।
कानुनविद् भीमार्जुन आचार्यले पनि तीव्र गतिमा अघि बढेको प्रहरी अनुसन्धान अहिले निकै सुस्त हुनुले शंका बढाएको बताए। उनले भने, ‘प्रहरीको सुरुको काम निकै आक्रामक र आशालाग्दो थियो। अहिले लगभग शून्यतामा पुगेको देखिन्छ।’
अदालतले पक्राउ पुर्जी जारी गरिसकेको व्यक्तिलाई पक्राउ गर्न नसक्नु, आरोप सार्वजनिक भएका व्यक्तिलाई बयानका लागि पनि तान्न नसक्नुले अनुसन्धानमा राजनीति घुसिसकेको बुझ्न सकिने उनले बताए। ‘प्रहरीको यस्तो सुस्तताले प्रस्ट राजनीतिक दबाब परिसकेको संकेत गर्छ,’ उनले भने।
नक्कली भुटानी शरणार्थी प्रकरणमा धमाधम ‘हाई प्रोफाइल’ व्यक्ति आरोपले डामिन थालेपछि अनुसन्धान प्रभावकारी हुनेमा शंका उत्पन्न हुन थालेको छ।
राज्य नै अपराधमा संलग्न देखिएको, सिंगो गृहप्रशासन नै ठगी गिरोहको सेटिङमा लागेको देखिने यो प्रकरणलाई सरकारले हलुका ढंगले लिन नहुने पनि आचार्य बताउँछन्। ‘यसमा न सरकार, न ठूला दल कोहीकसैलाई उदार हुने र मुक्ति पाउने छुट छैन। विश्व समुदायले नेपालको अपराध अनुसन्धानको भूमिका हेरिरहेको छ,’ उनले भने, ‘यो घटनाको प्रभावकारी अनुसन्धान भएर कम्तीमा अदालतको ढोकासम्म पुगेपछि विश्वमा नेपालको इज्जत कायम रहन्छ।’
हालसम्मको प्रहरी अनुसन्धानमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी प्रत्यक्ष तानिइसकेका छन्। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी भएको दोस्रो दिनदेखि उनी फरार भएका छन्। उनका छोरा सन्दीप रायमाझी भने प्रहरी हिरासतमा छन्। यस्तै नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डे पनि प्रहरी हिरासतमा छन्। उनी उपराष्ट्रपति कार्यालयमा कार्यरत छन्। त्यसअघि पाण्डे गृह मन्त्रालयको सचिव रहँदा ठगी गिरोहलाई सहयोग गरेको प्रमाण प्रहरीले फेला पारेको दाबी गरेको छ।
यस्तै एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री रहँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई, नेपाली कांग्रेस नेतृ सुजाता कोइराला उपप्रधानमन्त्री हुँदा सचिवालयमा कार्यरत केशव दुलाललगायत व्यक्तिहरू पनि प्रहरी हिरासतमा छन्। हालसम्म आठजना प्रहरी हिरासतमा रहँदा केही व्यक्ति प्रहरीको खोजी सूचीमा छन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापालाई समेत प्रहरीले अनुसन्धानको दायरामा राखेको छ। नागरिक दैनिकबाट