काठमाडौं, वैशाख २६ । नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणले सदनमा प्राथमिकता पाउँदा प्रतिनिधि सभाको सुव्यवस्थामा नै प्रश्न उठ्न थालेको छ । यस प्रकरणमा बोल्न चाहने सांसद र आकस्मिक समय सकेसम्म कम गर्ने सभामुख देवराज घिमिरेको प्रयत्नले बैठक सञ्चालनमै अवरोध भइरहेको छ । पहिलो बैठकदेखि नै समय व्यवस्थापनमा समस्या खडा भइरहेको छ । सोमबार समय व्यवस्थापनको प्रश्न त संसदीय मर्यादा र सभामुखको विशेषाधिकारसँगै जोडिन पुगेको छ ।
आकस्मिक समयमा बोल्न सोमबार पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्र सांसदलगायतले समय माग गरेका थिए तर बजेटका सिद्धान्त र प्राथमिकतामा छलफलका कारण शून्य समयबाहेक आकस्मिक समय नदिने बैठकअघि नै तय भएको थियो ।
बैठकको सुरुवातमै आसन स्थानमा उठेका सदस्यलाई सभामुखले बस्न आग्रह गरेका थिए तर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले एकाएक बैठक कक्षमै धमाधम कपडा खोल्न सुरु गरेपछि सुव्यवस्थामा नै प्रश्न खडा भएको थियो । बोल्न पाउनुपर्ने मागसहित सिंह कम्मरभन्दा माथि अर्धनग्न नै भए ।
सभामुख घिमिरेले सुव्यवस्था कायम गर्नका लागि सदस्यले पालना गर्नुपर्ने नियमप्रति ध्यानाकर्षण गराए तर सिंह रोकिएनन् । उनले आफ्नै स्थानबाट समय माग गरिरहे । सभामुखले बैठकको सुव्यवस्थाका लागि नियमावलीको नियम ३० अनुसार चेतावनी दिए। चेतावनी नमाने कारबाहीका लागि बाध्य हुने बताएपछि सिंहले कपडा लगाए ।
बैठक कक्षमा सुव्यवस्थाको प्रश्न उठेको यो नै पहिलो घटना भने होइन । इतिहासमै सबैभन्दा लामो अवरोध सङ्घीय संसद्को पहिलो कार्यकालमा भइसकेको छ । संविधानको विषयलाई लिएर २०७१ माघ ५ मा नेकपा (माओवादी केन्द्र)का सभासद्ले संविधान सभामा तोडफोड नै गरेका थिए तर कुनै किसिमको कारबाही भएन । २०६८ मा वार्षिक बजेट पेस गर्ने व्रmममा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेको ब्रिफकेस माओवादीकै सांसदले तोडफोड गरेका थिए । उक्त घटनामा पनि कुनै कारबाही भएन ।
संविधान सभाको समितिमा पनि दलित जनजाति पार्टीका सभासद् विश्वेन्द्र पासवानले आफ्नो कपडा आफैँ च्यातेका थिए । बैठक कक्षबाटै कुर्सीसमेत उनले फालेका थिए । संविधान सभामा सभासद् सञ्जय साहले सभा कक्षको माइक तोडेका थिए। गोरखापत्र दैनिकबाट