Logo

राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी



काठमाडौं । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८र७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ ।

तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका व्यक्तिबाट लेभीका रूपमा लिइएको रुपियाँ आम्दानी शीर्षकमा राखिएको हुनसक्ने दाबी गरेको छ ।

नेकपा (एमाले) ले बुझाएको लेखा परीक्षण प्रतिवेदनमा आय अन्तर्गत राजनीतिक नियुक्ति शीर्षकमा २५ लाख रुपियाँ देखाएको छ । आयोगको कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले भने, “राजनीतिक नियुक्तिका नाममा दलले पैसा लिन पाउन्न, सो दलले बुझाएको प्रतिवेदन हेर्न पाएको छैन, हेरेर थप स्पष्ट होला ।”

निर्वाचन आयोगले दलको सहजताका लागि राखेको लेखाको ढाँचामा समेत आम्दानी र खर्च अन्तर्गत राजनीतिक नियुक्ति शीर्षक छैन । आयोगको लेखा ढाँचामा आम्दानी अन्तर्गत सदस्यता शुल्क, सदस्यता नवीकरण शुल्क, चल–अचल सम्पत्ति बिक्रीबाट प्राप्त आय, ब्याज, सदस्यताबाट प्राप्त सहयोग रकम, आर्थिक सहयोग, नेपाल सरकारबाट प्राप्त सहयोग र अन्य आय मात्रै उल्लेख छ ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा लेखा परीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिएबमोजिम जाँच गराउन सक्ने व्यवस्था छ । दलबाट कुनै कागजात वा विवरण माग गरिए तोकिएको अवधिभित्र सम्बन्धित दलले आयोगलाई बुझाउनुपर्ने ऐनमा उल्लेख छ ।

सहसचिव भट्टराईले भने, “प्रतिवेदन हेरेपछि आयोगलाई शङ्का लागेमा सम्बन्धित दललाई पत्राचार गर्नेछौँ ।” नेपाली कांग्रेसले भने व्यक्तिगत चन्दा थोरै पाएको छ । उसले सो शीर्षकमा चार लाख ७७ हजार आम्दानी जनाएको छ तर आर्थिक सहयोग शीर्षकमा सो दलले छ करोड ६८ लाख २४ हजार प्राप्त भएको उल्लेख गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता शुल्कबाट छ करोड ९२ लाख १४ हजार ६२१ रुपियाँ आर्जन गरेको छ ।

संसद्को दोस्रो ठुलो दल नेकपा (एमाले) ले भने पार्टी सदस्यताबाट छ करोड ८५ लाख ६३७ रुपियाँ आम्दानी गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले लेखा परीक्षण बुझाउनुअघिको दस महिनामै व्यक्तिगत र संस्थागत गरी पाँच करोड २५ लाख ७८ हजार ३४७ रुपियाँ आम्दानी गरेको छ । व्यक्तिगत आर्थिक सहयोगतर्फ २५ हजार रुपियाँभन्दा बढीको सहयोग शीर्षकबाट सो दलको दुई करोड २८ लाख रुपियाँ आम्दानी छ ।

नेकपा (माओवादी केन्द्र) ले सदस्यताबाट एक करोड ८६ लाख ५० हजार रुपियाँ आम्दानी गरेको छ । आवधिक लेभीबाट सो दललाई छ करोड ६५ लाख १३ हजार २१४ रुपियाँ प्राप्त भएको छ । जम्मा आम्दानी करिब नौ करोड रहेको सो दलले बैङ्क ब्याजबाट सात लाख ८६ हजार आर्जन गरेको छ । प्रकाशन बिक्रीबाट नेकपा (माओवादी केन्द्र) ले ४१ लाख ३६ हजार चार सय रुपियाँ आम्दानी गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने वरिष्ठ नेताको आर्थिक सहयोगको भरमा सञ्चालन भएको छ । राप्रपालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने सोही दलका वरिष्ठ नेता पशुपति शमशेर राणा रहेका छन् । उनले आर्थिक वर्ष २०७८÷७९ मा ४० लाख ५० हजार र अर्का नेता प्रकाशचन्द्र लोहनीले ३० लाख रुपियाँ सहयोग गरेको देखिन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्