Logo

कसैलाई जोगाउन पनि मिल्दैन, फसाउन पनि मिल्दैन : सांसद राणा



काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालको मात्र नभएर अमेरिका र अन्तर्राष्ट्रिय एजेन्सीको समेत सरोकार जोडिएको बताएका छन् ।
‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बाहिर पठाउनु भनेको मानव बेचविखन हो । यसमा हाम्रो मात्र होइन, अरु देश र इन्टरनेसनल एजेन्सीकै सरोकार जोडिएको छ । यो अत्यन्त सिरियस इस्यु हो । फल्स आइडेन्टिटीमा नेपालीलाई बाहिर पठाएपछि यसमा यूएन, यूएनएचसीआर र अमेरिकाले पनि चासो दिन्छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
कांग्रेस नेता राणाले शीर्ष नेताहरुले चाहँदैमा यो प्रकरण फासफुस नहुने पनि औंल्याए । उनले भने, ‘तीनजना शीर्ष नेता बसेको विषय आपत्तिजनक होइन । तर यस्तो गम्भीर प्रकरणमा कसैलाई जोगाउन मिल्दैन । जोसुकै ठूलो नेता परोस्, निष्पक्ष अनुसन्धान हुनुपर्छ । मिडिया र पब्लिकको दबाबका कारण यसलाई शीर्ष नेताहरुले लुकाएर लुक्ने स्थिति छैन । नेताहरुले चाहे पनि यो फासफुस हुँदैन ।’
उनले कसैलाई जोगाउन पनि नहुने, फसाउन पनि नमिल्ने बताए । राणाले भने, ‘यसमा विभिन्न नेताहरुको नाम आएको छ । प्रधानमन्त्री स्वयंले कुनै दबाबमा पर्दिनँ भनिसकेको स्थिति छ । यसमा कोहीलाई बचाउनुहुँदैन, कोहीलाई फसाउन पनि हुँदैन । अनुसन्धान पूरा हुनु अगाडि र अदालतबाट प्रमाणित नभईकन दोषी ठहराइहाल्नुहुँदैन । भोलि अहिले चर्चामा आएका नेताहरुले सफाइ पाएर नाम नआएकाहरु पनि तानिन सक्छन् नि ।’
आफ्नो पार्टीले अनुसन्धानलाई प्रभावित पार्न नचाहेको पनि उनको दाबी छ । राणाले भने, ‘यसमा हाम्रो पार्टीका केही नेताहरुको नाम पनि जोडिएको छ । तर हाम्रा नेताहरु भागेर हिँडेका छैनन् । अरु पार्टीका पदाधिकारी नै सम्पर्कविहीन छन् । लुक्ने वा लुकाउने काम भएको छ ।’
नेपाली कांग्रेसले विगतमा पनि अदालत र अनुसन्धानमा कहिल्यै हस्तक्षेप नगरेको औंल्याउँदै उनले विगतमा कांग्रेस नेता खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेमाथि भ्रष्टाचारको मुद्दामा कारबाही भएको दृष्टान्त दिए ।
कांगे्रस सांसद राणाले आफू सम्पत्ति सार्वजनिक गर्न तयार रहेको पनि बताए । उनले भने, ‘सम्पत्ति सार्वजनिक गर्नु ठूलो कुरा होइन । नेताको सम्पत्ति मात्र होइन, उसको परिवारको पनि हेरौं । सम्पत्तिको स्रोत पनि हेरौं । राजनीति गरेर हामीजस्ता कतिपयको सम्पत्ति घटेको पनि छ । आरजु देउवाले संसदमै सम्पत्ति सार्जजनिक गरौं भन्नुभयो, त्यसमा अरु पार्टी तयार छन् कि छैनन् ?’
साथै राणाले जनता र कार्यकर्ता किन बेखुसी छन् भनेर कांग्रेसले बेवास्ता गर्न नमिल्ने पनि औंल्याए । उनले भने, ‘तनहुँको सिटमा पपुलर उम्मेदवार हुँदाहुँदै पनि कांग्रेसले १५ हजार मतान्तरमा हारिसकेपछि एक किसिमको झट्का लागेको छ । जनता र कार्यकर्ता किन बेखुसी छन् ? यो कुरामा सिरियस नभए भोलि अप्ठ्यारो पर्छ । अब शेरबहादुर देउवादेखि हामी सबै सुध्रनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot