Logo

तारा एयर दुर्घटनामा प्राविधिक र मानवीय त्रुटि



काठमाडौं, वैशाख २७ । गत वर्ष जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ नजिकै सानुसरे भिरमा भएको तारा एयरको नाइन एन एइटी विमान दुर्घटनामा मानवीय त्रुटिसँगै र जहाजमा समेत प्राविधिक समस्या रहेको भेटिएको छ । चालक दलसहित २२ जनाको मृत्यु भएको उक्त दुर्घटना यसअघि खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको थियो ।

जहाज दुर्घटनाको अनुसन्धान सम्पन्न गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सोमबार बुझाइएको अन्तिम प्रतिवेदनले जहाजमा अगाडिको पहाड र त्यसको सम्भावित जोखिमबारे जानकारी दिने टेरेन अभोइडेन्स एन्ड वार्निङ सिस्टम (टिएडब्लुएस) नै बिग्रिएकाले बन्द अवस्थामा रहेको देखाएको हो ।

आयोगका अध्यक्ष वरिष्ठ एरोनोटिकल इन्जिनियर रतिशचन्द्रलाल सुमनले जहाजका चालक अनुभवी रहेपनि खराब मौसममा जहाजको महत्वपूर्ण उपकरण बिग्रेको हुनु, जहाज जमिनबाट कति दूरीमा छ भन्ने थाहा नहुँदा नहुँदै बादलभित्र उडाउन, जहाजको तौल तोकिएभन्दा बढी हुनु, नागरिक उड्डयनले तोकेको मापदण्डबाहिर गएर उडान भर्नुलगाएका कारण जहाज दुर्घटना भएको प्रतिवेदनमा समेटिएको बताए ।

उनले भने, “दुर्घटनाको कारण पहिल्याउन अमेरिका पठाइएको टेरियन एभ्वाइडेन्स एन्ड वार्निङ सिस्टम (टावस) नामक उपकरणले जहाजमा प्राविधिक समस्या रहेको देखाएको छ । जमिनबाट जहाजको दूरी र दुर्घटनाको सम्भावनाबारे वार्निङ दिने टिएडब्लुएस उपकरण बिग्रेका कारण चालकलाई वार्निङ नै नआएको देखिएको छ । दुर्घटनामा मानवीय त्रुटिसमेत देखिन्छ ।”

प्रतिवेदनमा विमान दुर्घटना हुँदा उक्त उपकरण खुला वा बन्द रहेको, त्यही दिनको उडानमा मात्र उडान बन्द भएको हो वा पहिले नै त्यही अवस्थामा थियो भन्नेबारे परीक्षणका गर्दा उपकरण पहिलेदेखि नै बिग्रेको अवस्थामा रहेको भेटिएको उल्लेख छ । प्रतिवेदनले जहाजमा रहेका नेभिगेसन उपकरण प्रयोग नगरिनुलाई दुर्घटनाको कारण औँल्याएको छ ।

प्रतिवेदनले चालक दलले उडानमा पालना गर्नुपर्ने प्रोपर रुल फलो नगरेको, कम्पनीले तोकेको उडान मापदण्ड एसओपीसमेत पालना नगरेकोसमेत देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot