Logo

सडक विस्तार तीव्र



भोजपुर, २७ वैशाख । पूर्वी क्षेत्रबाट भोजपुरलाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तिवारीभञ्याङ–अधेँरीघाट ३५ किलोमिटर सडकको स्तरोन्नतिले गति लिएको छ । पौवादुङमा गाउँपालिकाको तिवारीभञ्याङ, च्याङ्ग्रे, मानेडाँडाहुँदै भोजपुर र धनकुटाको सिमाना अधेँरीघाटसम्म सडक निर्माणले गति लिएको हो ।

पौवादुङमा गाउँपालिकाको मुख्यमार्गका रूपमा रहेको यो सडक गाउँपालिका, प्रदेश सरकार र केन्द्र सरकारको लागत साझेदारीमा निर्माण भइरहेको हो । यसवर्ष प्रदेश सरकारको रु एक करोड, केन्द्र सरकारको रु एक करोड २० लाख र गाउँपालिकाको रु एक करोड ५० लाख लागतमा निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ ।

आगामी दिनमा कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको यो सडक खण्ड अन्तर्गत ११ किलोमिटरमा गे्रडिङ मिलाउने, चौडा गर्ने, रिटेनिङ वाल निर्माण गर्ने, ड्रेन बनाउनेलगायतको काम सकिएको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“यो हाम्रो गाउँपालिकाको मुख्य सडक हो”, उनले भने, “एघार किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको यो सडकलाई आगामी दिनमा कालोपत्र गर्ने लक्ष्य छ ।”

सडक विस्तारपछि वडा नं ५ सानोदुम्माका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने वडा अध्यक्ष बोमप्रसाद राईले बताए । सडक विस्तारपछि स्थानीयले उत्पादन गरेका कृषि उपजको बजारीकरणमा टेवा पुग्ने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा १३ किलोमिटर ग्राभेल, कजवे निर्माण, ग्याबियन, मेसिनरी पर्खाललगायतको गरिएको थियो ।

गाउँपालिकाको मुख्य सडकको रूपमा रहेकाले कालोपत्र गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । यो सडक गाउँपालिकाबासीसँगै भोजपुरका नागरिकका लागि सबैभन्दा छोटो मार्ग हुने भएकाले विस्तारलाई प्राथमिकताका दिइएको बताए । आगामी पाँच वर्षमा सडक कालोपत्र गर्ने लक्ष्य रहेका गाउँपालिकाको भनाइ छ । साथै भोजपुर र धनकुटा जोड्ने अधेँरीघाटमा पक्की पुल निर्माणका लागिसमेत पहल गरिरहेको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

यहाँ पुल बनेपछि पूर्वबाट धरान, धनकुटासँगै तराईका जिल्लासँगको दूरी २३ किलोमिटर छोटो हुनेछ । “अधेँरीघाटमा पुल बन्नेवित्तिकै यातयातमा धेरै सहजता हुन्छ”, अध्यक्ष राईले भने, “पुल निर्माणका लागि हामीले केन्द्र सरकार तथा प्रदेश सरकारसँग माग गरिरहेका छौँ । यो पुल निर्माण भएपछि स्थानीयलाई झनै सहजता हुनेछ ।”

सडकलाई गुणस्तरीय तवरबाट सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जिनियरले नियमित अनुगमन गरिरहेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्