मनिला, २७ वैशाख । फिलिपिन्सको राजधानी मनिलानजिकै रहेको एक घरमा फिलिपिनो प्रेमिकाको शव ड्रममा फेला परेपछि एक ७१ वर्षीय अमेरिकी पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
बाकुर शहरको प्रहरीले एएफपीलाई दिएको जानकारीअनुसार मनिलास्थित आफ्नो घरमा फोहोरको झोला र डक्ट टेपमा सिल गरिएको निलो ड्रमभित्र ४८ वर्षीया महिलाको शव फेला परेपछि मङ्गलबार उनलाई पक्राउ गरिएको हो ।
महिलाका वयस्क छोराले उनी चार दिनदेखि बेपत्ता रहेको जानकारी दिएको केही घण्टापछि प्रहरीले उक्त ठेगानाको निरीक्षण गरेको थियो । उनका छोराले पनि अधिकारीहरूलाई त्यहाँ ‘दुर्गन्ध’ आएको बताएका थिए ।
प्रहरीले तीन वटा चक्कु र एक थान डोरी समेत बरामद गरेको छ भने हत्याको आशङ्कामा उनलाई नियन्त्रणमा लिएको छ ।
मनिलास्थित अमेरिकी दूतावासका प्रवक्ताले एएफपीसँग भने, “हामीलाई यो घटनाबारे जानकारी छ । अमेरिकी प्राइभेसी एक्टका कारण हामी थप जानकारी दिन सक्दैनौं ।’ महिलाको मृत्युको कारण पत्ता लगाउन शव परीक्षणको तयारी भइरहेको फिलिपिन्स प्रहरीले जनाएको छ । रासस