Logo

बालकृष्ण खाँडलाई कांग्रेस केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण : नेता कँडेल



काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न पार्टीका नेता-कार्यकर्तालाई कानुनी कठघरामा उभ्याउनुपर्ने औंल्याएका छन् ।
‘यो देशकै मान प्रतिष्ठामा आँच पुर्‍याउने काण्ड हो । यसलाई अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीरतापूर्वक हेरेको अवस्था छ । केही गलत व्यक्तिहरुका कारण मुलुकको अस्मितामाथि नै प्रश्नचिह्न उठेको छ । यसमा सलंग्न पार्टीका कोही प्रभावशाली व्यक्ति वा उसको नातापातालाई कुनै पनि बहानामा उन्मुक्ति दिनुहुँदैन । त्यस्ता व्यक्तिलाई कारबाही गर्न खुट्टा कमाउने हो भने कांग्रेस सिद्धिन्छ । अब हामीले व्यक्तिलाई होइन, पार्टीलाई बचाउने हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै कँडेलले भने ।
नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँ भन्दैमा आफू गलत कामको ढाकछोपमा नलाग्ने उनले बताए । कँडेलले भने, ‘भ्रष्टाचारीलाई सरकारले जनताको भावना अनुसार कारबाही गर्नुपर्छ । हामीले यसको छानबिनका लागि सहयोग गर्नुपर्छ । यसमा यो वा त्यो बहस गर्ने कुरा आउँदैन । कानुनभन्दा माथि कोही पनि छैन ।’
पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडलाई पार्टीको केन्द्रीय सदस्यबाट निलम्बन नगर्नु दुर्भाग्यपूर्ण भएको पनि कँडेलले बताए । उनले भने, ‘कांग्रेसमा जहिले पनि पदाधिकारीको बैठक मात्र बस्छ, केन्द्रीय समितिको बैठक नै बोलाइन्न । निर्दोष हो वा होइन, छानबिनले तय गर्ने हो । पार्टी पदाधिकारीले होइन ।’ उनले खाँडलाई तत्काल पदबाट हटाउनुपर्ने औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्