Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा साँच्चिकै यसको तहसम्म पुगेर एउटा अनुसन्धान हुने हो भने केपी ओली पनि बच्न सक्नुहुन्न : दिनेश त्रिपाठी (भिडिओसहित)



काठमाडौं, २८ बैशाख । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रक्रियालाई लिएर स्वागत गरेका छन् । उक्त प्रकरणमा केही हाइप्रोफाईल व्यक्ति समातिएको उल्लेख गर्दै अनुसन्धानको प्रक्रिया विश्वसनीय ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति पाउन नहुने बताए । उनले कानून उल्लंघन गर्ने सबै व्यक्ति सजायको भागिदार हुनुपर्ने बताए । उनले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कार्यदल बनाउने काम भएको भन्दै त्यहीँबाट ठगी धन्दाको सुरुवात भएको आरोप लगाए ।

उनले भने,‘वास्तवमा के छ भने यसमा, ओलीजी प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँले त्यसको जिम्मेवारी बोक्नैपर्छ । अहिले ओलीजी यत्रो बेचैन हुनुहुन्छ नि, यत्रो आँत्तिरहनुभएको छ नि, प्रचण्डजीसँग उहाँको पानी बाराबारको अवस्था थियो, तर अहिले दिनको चार चोटी दौडिएर ओलीजी प्रचण्डकहाँ पुगिरहनुभएको छ । देउवाजीसँग पनि ओलीको राम्रो सम्बन्ध थिएन, किनकी सरकार निर्माणको कुराले गर्दा, अहिले दिनुहँ भेटघाट गरिरहनुभएको छ, उहाँको छटपटाहट हो, त्यो के को लागि ? किनभने त्यो समस्याको, साँच्चिकै यसको तहसम्म पुगेर एउटा अनुसन्धान हुने हो भने फेरि उहाँ पनि बच्नसक्नुहुन्न । किन चाहीँ कार्यदल बनाईयो ? कार्यदल बनाउनुपर्ने कुनै कारण नै थिएन । त्यतिवेला रामबहादुर थापा गृहमन्त्री हुनुहुन्थ्यो ।’

त्रिपाठीले नेपाल कस्तो लोकतन्त्र र राज्य हो ? भन्दै प्रश्न गरे । उनले भने,‘जहाँ विचौलिया र ठगहरुले कार्यदलमा यो यो मान्छेलाई राख भन्छ । अनि गृहमन्त्रीलाई प्रयोग गर्छन् ।’ उनले यो प्रकरणमा तत्कालिन गृहमन्त्री बादलका सल्लाहकार र छोरा तानिएकोले बादल बच्न नसक्ने बताए । उनले यो प्रकरणलाई संगठित अपराधको संज्ञा दिए । उनले नेपालमा लोकतन्त्रको नाममा विचौलियातन्त्र भएको भन्दै यसलाई ब्रेक गर्न जरुरी रहेको बताए । नेपालालई असफल राष्ट्र बनाउन खोजिएको आरोप लगाए । नेपाल प्रहरीको मनोवललाई उच्च बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्