काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘जिउँदा सहिद’का रुपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
कायस्थ २०६२/६३ को जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते बनेपामा निस्केको र्यालीमा सहभागी हुँदा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए ।
त्यसपछि सधैँ अर्धचेत अवस्थामा रहेका उनको हिजो वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको हो ।
सभापति देउवाले आज एक शोक सन्देशमार्फत जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिएका ‘जिउँदा सहिद’ कायस्थको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गरेका छन् ।
सभापति देउवाले आज प्राप्त भएको राजनीतिक उपलब्धि उनी र उनी जस्तै वीर सहिदहरुको अतुलनीय योगदानबाट सम्भव भएको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले निर्वाह गरेको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहने उल्लेख गरेका छन् ।
उनले कायस्थप्रति श्रद्धाञ्जलि र आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । रासस/File Photo