Logo

नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकीकरण



यो संविधानको संशोधन गर्ने समय आइसक्यो : लक्ष्मण थारु
काठमाडौं, २८ बैशाख । नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीचको एकीकरण भएको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी एकताको घोषणा गरिएको हो । सो क्रममा पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा जानकारी दिईएको थियो । वर्तमान अवस्थामा मुलुक दुई ध्रुवमा ध्रुवीकृत रहेको नेपाली राजनीतिक वृत्तमा विदितै भएको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

पार्टीका उपाध्यक्ष तथा वरिष्ठ नेता दामोदर पण्डितद्धारा जारी गरिएको विज्ञप्तीमा जनताले गणतन्त्र स्थापनार्थ बलिदानी गर्दै २०६२/०६३ को जनआन्दोलन लडेको भएतापनि जनताले चाहेको र खोजेको परिवर्तनका साथै पहिचान प्राप्ति, भूमिमुक्ति, वर्गीय मुक्ति, जातीय मुक्ति, आर्थिक सबलता, भ्रष्टचाररहित समतामूलक सुशासनको आभाषका साथै लैङ्गिकलगायत सम्पूर्ण किसिमका विभेदहरुको अन्त्यका साथै महिला, मुस्लिम, पिछडा वर्ग, उत्पीडित तथा सीमान्तकृतहरुको अधिकार प्राप्तिको आन्दोलन तार्किक निश्कर्षमा पुग्न नसकेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘मुलतः नेपाली राजनीति एकातिर एकात्मकवादी राज्यसत्ताको जर्जरता र अर्कोतिर नेपाली जनताले परिकल्पना गरेको पहिचानको आधारमा बन्ने राज्यसत्ताको स्थापना भन्नु दक्षिणपन्थी र उत्तरपन्थी विश्व राजनीति जस्तै हो भन्दा फरक नपर्ला अतः भौगोलिक सांस्कृतिक पहिचान सहितको सङ्घीयता, सङ्घीयता सहितको संविधान भन्ने मूल नारालाई संस्थागत गर्ने विषयलाई मध्यनजर गर्दै लिम्बुवान, खम्बुवान, तामाङसालिङ, नेवाः, तमुवान, मगरात, थरुहट, मधेश, कोचिला, शेर्पालुङ, खसान, दलित मुक्तिको आन्दोलन गर्ने क्रममा सुदूरपूर्वमा प्रदेश नं. १ को नामाङ्कन पहिचान नामेट गर्ने तथाकथित एकल नश्लीय नाम ’कोशी’ वर्तमान एकात्मकवादी राज्यसत्ताको पृष्ठपोषक पहिचान विरोधी प्रदेश सरकारले ल्याएसँगै कोशी नाम खारेजीको आन्दोलन अहिले पेचिलो बन्दै गइरहेको वर्तमान परिप्रेक्ष्यमा पहिचानवादी पार्टीहरु मुकदर्शक बनेर बस्ने कल्पनासम्म पनि गर्न सकिने विषय होइन।’

अहिले सुदूरपूर्वमा भइरहेको प्रदेश नं. १ को नाम ‘कोशी’ खारेजीको आन्दोलनलाई पहिचानकै आन्दोलनको जगबाट स्थापना भएको पहिचानवादी दल ‘नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले पनि आजैको मितिबाट सो आन्दोलनलाई समर्थन गर्दै ऐक्यवद्धतासहित पूर्ण सहभागिता जनाउने घोषणा गरेको छ । धनबहादुर पङ्घाकको संयोजकत्वमा ४२९ सदस्यीय कोशी नाम खारेजी आन्दोलन परिचालन समिति निर्माण गरी संघर्ष समिति गठन गरेको पनि जनाईएको छ ।

नाउपाका उपाध्यक्ष तथा वरिष्ठ नेता दामोदर पण्डितले पश्चिमको थारु समूदायबाट र जेलबाट जन्मिएको नागरिक उन्मुक्ति पार्टी नेपालको सुदूरपूर्व (जहाँबाट सूर्य उदाउँछ) उताको पार्टीसँग एक भएकोमा गर्व महशुस गरेका छन् । उनले अहिलेको आन्दोलनको मुद्दा कोशी प्रदेशको नभइ सिङ्गो देशभरिका पहिचानवादीहरुको मुद्दा बनेको बताए। उनले सबैलाई आफ्नो पहिचानवादी पार्टीमा आउन आग्रह गरेका छन् ।

उनले सिंगो पहिचानको मुद्दा आफ्नो दलले बोकेको सुनाए । उनले पहिचानवादीहरु सँगै मिलेर नगई सुखै नभएको बताए । आफूहरु जनताको दबाबकै कारण एकीकृत भएको उनको भनाई छ । उनले आफूहरु देशको वैकल्पिक शक्तिको रुपमा उदाएको बताए । उनले आफ्नो पार्टीका संरक्षक रेशम चौधरीले जेलभित्रैबाट अभियान–०८४ पुस्तक सार्वजनिक गर्न लागेको बताए । उनले एमाले, कांग्रेस र माओवादीभित्र रहेका पहिचानवादी नेताहरुलाई पनि आफूहरुको पार्टीमा आउन आह्वान गरे ।

कार्यक्रमका प्रमुख अतिथि ज्ञानबहादुर गुरुङले पार्टी एकताका लागि लामो छलफल भएको र गत फागुन २४ गतेको छलफलपछि एकताको निश्कर्षमा पुगिएको स्पष्ट पारे । पार्टी एकताबारे जानकारी दिनको लागि भने ढिलाई भएको उनको भनाई छ । उनले प्रदेश १ को नामलाई कोशी आन्दोलन गरेपछि आफूहरु त्यो आन्दोलनमा सहभागी हुँदा पत्रकार सम्मेलन गर्न ढिलाई भएको सुनाए ।

‘प्रदेश–१ लाई पहिचानविरोधी कित्तामा उभ्याउन त्यहाँका प्रदेश सरकारहरु ८२ जना सांसदले सिग्नेचर गर्दै बढो हत्याजनक काम गरे, त्यहाँ हाम्रो शान्तिपूर्ण विरोधमा अनि धर्ना र जुलुसमा ताकि ताकि गोली हान्ने काम सुरु भयो। त्यही क्रममा हामी पचासौँ मानिसहरु, हाम्रा कार्यकर्ताहरु घाइते छन्। त्यसमा लाज्याङ् लिम्बुको निधन भइसक्यो, उहाँ हाम्रो सचिवालय सदस्य हुनुहुन्थ्यो’,उनले भने। सो आन्दोलनमा जाँदा काठमाडौं आइपुग्न ढिलो भएको उनको दाबी छ।

नागरिक उन्मुक्ति पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एकतापछि नागरिक उन्मुक्ति पार्टी एकीकृत भइसकेको उनको भनाई छ । उनले आफूहरु पहिचानवादी भएको उल्लेख गरे । यसबारेमा ०६४ साल फागुन १८ गते नै सम्झौता भैसकेको उनले स्मरण गराए ।

२०६४ सालमा नै तत्कालिन सरकारसँग १८ दिने आमहडतालपछि सम्झौता भएको स्मरण गराउँदै उनले भने,‘पहिचानको आधारमा संघीयता हुने, गणतन्त्र हुने, २ सय ३९ वर्षिय राजतन्त्रको अन्त्य गर्दै जातिय ऐतिहासिक पृष्ठभूमिको आधारमा संघीय गणतन्त्र राज्य हुनेछन् भन्ने हाम्रो सम्झौता भएको र सम्झौताको आज उल्लङघन भएको छ। सम्झौता उल्लङघन पछि राज्यले ताकी ताकी गोली हान्न थालेको छ।’

उनले राज्यले आफूहरुमाथि अहिलेको आन्दोलनमा दमन गरेको भन्दै सत्यतथ्य छानबिन गर्न माग गरे । निहत्था जनता र शान्तिपूर्ण आन्दोलनमाथि राज्य सत्ता नश्लीय ढंगले आईलागष्ेको उनको भनाई छ । उनले देश बचाउनुपर्ने भए कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने उनले चेतावनी दिए। अहिलेसम्म भएका घाइतेहरुलाई उपचार गर्नुपर्ने र आन्दोलनमाथिको दमन तुरुन्तै रोक्नुपर्ने उनको थप माग छ ।

नाउपाका नेता लक्ष्मण थारुले नयाँ संविधान केही मुठ्ठीभरका मान्छेहरुको फाइदाका लागि घोषणा गरिएको आरोप लगाएका छन् । उनले थारुलगायत विभिन्न जातजातीहरुको आन्दोलन रोडमा रहेको र आफूहरुले पहिलादेखि नै अधुरो र अपुरो नयाँ संविधानमार्फत केही जातजातिको हकअधिकार स्थापित गर्न खोजिरहेको बताए ।

‘२०७२ साल असोज ३ गते घोषणा गरिएको अधुरो र अपुरो संविधान, जसले सांस्कृतिक र भगौलिक पहिचानलाई अस्विकार गर्यो। यो संविधानको संशोधन गर्ने समय आइसक्यो। लिम्बुवान, खम्बुवान, किराँत, मधेसी, जनजाती आदिवासीले उठाएको मुद्दालाई यो प्रचण्ड सरकारले यथासम्भव छिटो संविधान संशोधन गरेर मागहरु सम्बोधन गर्नुपर्छ,’–उनले भने।

झापा, मोरङ् र सुनसरीमा आन्दोलन चर्किएको स्मरण गराउँदै उनले भौगौलिक र साँस्कृतिक पहिचान माग्नेहरु आन्दोलनमा घाइते हुन थालेको बताए । उनले भने,‘पुलिसँग मुठभेद हुँदैछ अहिले, यो ् देशको लागि राम्रो पक्ष होइन, त्यसकारण प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षसँग यथासम्भव छिटो वार्ता र संवादबाट मागहरु सम्बोधन गर्नुपर्छ । नागरिकलाई घाइते र अपाङ्ग बनाएर र यो देश अगाडि बढ्न सक्दैन्।’
नागरिक उन्मुक्ति पार्टी सरकार, संसद र आजदेखि सडकमा पनि रहेको उनले बताए।

संयोजक धनबहादुर पङ्घाले प्रदेश १ को नामकरणको विषयमा भइरहेको आन्दोलनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट ऐक्यबद्धता र समर्थनको घोषणा गरे ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै इन्दिरा मेन्याङ्बोले पहिचानवादीहरु एक भएर प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै संघर्ष समिति गठन गरेको स्पष्ट पारिन् ।गणतन्त्र स्थापनाभएपछि नेपालका आदिवासी वर्गहरु पीडित भएको भन्दै पहिचानवादी र उत्पीडित नागरिक एक हुँदै देशका लागि उदाइरहेको नाउपामा एकीकृत भएको उनको भनाई छ ।

यस्तै, अशोक चेम्जोङले प्रदेश १ नम्बरमा प्रदेशको नाम कोशी भएपछि लामो समयदेखि कोशी प्रदेश खारेजीको माग गर्दै आन्दोलन भइरहेको बताए । आफूहरुको उक्त आन्दोलनमा पदम लिम्बू शहिद भइसकेको उनले बताएका छन्। राँके जुलुसमा केही सहयोद्धा साथीहरुलाई राज्यले गोली प्रहार गर्दै अङ्गभङ्ग बनाएको र आफूहरुले प्रदेशको नामाकरण गर्दाको बखत दुई दशकदेखि उठिरहेको आन्दोलनलाई सम्बोधन गर्दै लग्नुपर्ने आवाज उठाएको सुनाए ।

उक्त आन्दोलनको छुट्टै महत्व भएको बताउँदै उनले भने,‘झण्डै दुई दशकदेखि यो देशको राज्य पुनःसर्चना गरीरहँदा, यो देशको समस्याहरुलाई समाधान गर्ने विधिहरु, पद्धतीहरु के–के हुन् सक्छन् ? आज झण्डै ३० वर्ष÷६० वर्ष अगाडि मात्रै जन्मिएकाहरु देशहरु हिजो ६० वर्ष अगाडिका गरिब मुलुकहरु आज विश्वकै धनी मुलुकहरुको लिस्टमा पर्दाखेरि नेपाल दिनानुदिन खस्किदैं गएको छ। त्यसको कारण के हो नेपालका राजनीतिक दलहरुबाट समिक्षा गरिनुपर्छ।’ सरकारमा रहेका दलहरुले यसलाई गम्भीर समीक्षा गर्नुपर्ने उनको आग्रह छ ।

सोसल इन्जिनियरिङ्ग नभएका कारण नेपाल श्रीलङ्काको अवस्थामा देश गइरहेको र देशको विकास हुन नसकेको उनको दाबी छ। सोसल इन्जिनियरिङ्ग नभएका कारणले नागरिकले देश मेरो हो भन्न नसकिरहेको पनि उनको आरोप छ ।

उनले अब देशलाई समृद्धिको दिशातिरबाट बञ्चित गराउने काम राजनीतिक दलहरु र सरकारले बन्द गर्नुपर्ने बताए । उनले भने,‘आज त्यसैको आन्दोलनको स्वरुप १ नम्बर प्रदेशमा लामो समयदेखि आन्दोलन अगाडि बढिरहेको छ। पछिल्लोपटक प्रदेशको नामाकारण कोशी राख्दा कुनैपनि राजनीतिक दल, समूहले १ दिनपनि झण्डा बोकेन्न। १ दिन नारा जुलुसपनि गरेनन्।’

उनले नेपालमा जम्मा ५÷७ किलोमिटर मात्रै कोशी नदी रहेको र बाँकी भारतमा रहेको भन्दै देशका राजनीतिक दलहरुले गर्न खोजेको के हो भन्दै प्रश्न गरे ? ‘गम्भीर षड्यन्त्रबाट कोशी नाम ल्याइएको छ। यसको हामीले तत्काल जतिखेर कोशी नाम घोषणा गर्ने काम भयो, त्यति खेरैदेखि हामीले विरोध गर्यौं । तर रोक्ने काम भएन। यो आन्दोलन निरन्तर भइरहेको छ,’–उनले भने। आन्दोलन र संसदीय अभ्यासलाई संगसँगै लग्दै यो आन्दोलन अगाडि बढेको उनले बताए।

 



प्रतिक्रिया दिनुहोस्