Logo

कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने कोही पनि छैन : घिमिरे



काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउन आफ्नो पार्टी कदापि नलाग्ने बताएका छन् ।
‘कांग्रेसले भ्रष्टलाई न हिजो बचायो, न आज र भोलि नै बचाउँछ । प्रहरीको अनुसन्धानलाई पार्टीले पूर्ण सहयोग गर्छ । भ्रष्टाचार नियन्त्रण त हाम्रो सिद्धान्त नै हो । पार्टीले अब व्यवहारबाटै सिद्ध गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै घिमिरेले भने ।
कांग्रेसले प्रहरी अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं केन्द्रीय सदस्य बालकृष्ण खाँडबारे पार्टीले उपयुक्त निर्णय लिने विश्वास पनि उनले व्यक्त गरे । घिमिरेले थपे, ‘पदाधिकारी बैठकमा विगतमा भ्रष्टाचारको कारबाही भोगिरहेका नेताहरु निलम्बन नपरेको भन्ने एउटा तर्क आएको छ भने जनताको मनोविज्ञान फेरिएकाले निलम्बन गर्नुपर्ने अर्कोथरी तर्क आएको छ । यस सम्बन्धमा पार्टीले उपयुक्त निर्णय लिनेछ ।’
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु राष्ट्रघात भएको पनि घिमिरेले औंल्याए । उनले थपे, ‘यसमा प्रत्यक्ष वा परोक्ष संलग्न रहेका जोसुकै कारबाहीको दायरामा आउँछन् । तर कसैलाई जबर्जस्ती तान्ने कुरा पनि आउँदैन । त्यो अर्को अपराध हुन्छ ।’
कांग्रेसमा भ्रष्टाचारीलाई कारबाही हुनुहुँदैन भन्ने पक्षमा कोही पनि नरहेको उनको जिकिर छ । उनले भने, ‘नेपालमा यस्ता लुकेका प्रकरण धेरै छन् । ती सबै फाइदल अब खोल्नुपर्छ ।’ भ्रष्टाचारविरोधी नागरिक आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्