Logo

सदनमा ब्वायफ्रेन्ड-गर्लफ्रेन्ड घुम्न गए जस्तो स्थिति छ : महेश बस्नेत



काठमाडौं, ३० वैशाख । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतले प्रदेश सरकार आवश्यक नरहेको बारेमा पार्टीमा गम्भीर बहस रहेको बताएका छन् ।
‘संघीयता कार्यान्वयन गएपछि जनतामा व्यापक असन्तुष्टि छ । प्रदेश सरकार आवश्यक हो कि होइन ? जिल्ला समन्वय समिति आवश्य हो कि होइन ? स्थानीय तहलाई कसरी प्रभावकारी बनाउने ? आदि गम्भीर प्रश्न उठेका छन् । त्यसलाई ध्यान दिँदै जारी केन्द्रीय कमिटी बैठकमा मैले ११ बुँदा राखेको छु । बैठकमा साथीहरुका विचार पनि मिल्दाजुल्दा छन्,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
नेता बस्नेतले स्थानीय तहलाई १०० को हाराहारीमा ल्याउनुपर्ने पनि औंल्याए । उनले थपे, ‘संघीयताको सन्दर्भमा मात्र नभएर समानुपातिक र समावेशी प्रणालीले राजनीतिक स्थायित्व दिन नसकेकाले निर्वाचन प्रणालीबारे पनि प्रश्न उठेका छन् । । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउने, दुई कार्यकाल प्रधानमन्त्री, तीन कार्यकाल मन्त्री र चार कार्यकाल सांसद बनाउने कुरा पनि मैले उठाएको छु ।’ पार्टी संगठनमा सुधारका बुँदा पनि आफूले समेटेको उनले बताए ।

‘टोपबहादुरजी आज वा भोलि नै प्रहरीमा जानुहुन्छ’
बस्नेतले सांसद एवं निलम्बित पार्टी सचिव टोपबहादुर रायमाझीलाई एमालेले नै तत्काल प्रहरीमा नजान भनेको पनि लुकाएनन् । उनले भने, ‘सुरुमा हामीलाई त्यो सुडान घोटाला प्रकरण जस्तो लागेको थियो । बालकृष्ण खाँड, मन्जु खाँड, आरजु देउवा र दिपेश पुनलाई ढाकछोप गर्न खोजेपछि केही शंका लागेर तत्काल प्रहरीमा नजानोस् भनेका हौं ।’

पूर्व माओवादी र जसपा नेताहरुलाई पार्टी प्रवेश गराउँदा एमालेले नै अपयश लिनुपरेको उनले बताए । बस्नेतले थपे, ‘उपराष्ट्रपति नन्दकिशोर पुनको छोरा दिपेश पुन रामबहादुर थापा बादलको छोरा माओवादी नेताकै ग्याङ हो । उनीहरुको गल्ती र कमजोरीको भारी एमालेले बोक्नु परिरहेको छ । हिजो उपेन्द्र यादवको पार्टीमा रहँदा हत्याको आरोप लागेका लक्ष्मी कोइरीको पनि हामीले नै अपजश बोक्नुपरेको छ । हाम्रा साथीहरुले आफूले नगरेको कामको पनि जिम्मा लिनुपरेको छ । त्यसैले पार्टीमा समग्र शुद्धीकरण आवश्यक छ ।’

खाँड पक्राउ गरेपछि पार्टीले टोपबहादुर रायमाझीलाई छानबिन गर्न सघाउन भनेको र आज वा भोलि नै प्रहरीलाई सहयोग गर्ने बस्नेतले बताए ।

‘ओम्नी र यती फेक काण्ड हो’
एमाले नेता बस्नेतले एमाले भ्रष्टाचारविरोधी भएकाले ३३ किलो सुनकाण्ड, सुडान घोटालाको छानबिन गरेको दाबी गर्दै उनले लडाकु घोटाला, वाइडबडी र ललिता निवास काण्डको छानबिन गर्न चुनौती दिए । उनले भने, ‘ओम्नी र यती त हौवा र फेक काण्ड हो । नक्कली भए पनि सरकारले छानबिन गरोस् न त ।’
मुलुकमा नागरिक समाजका नाममा संगठित अराजकता फैलाइएको आरोप पनि बस्नेतले लगाए । उनले भने, ‘केही मानिस चर्चामा आउनका लागि हिजो टीभीमा स्टन्टबाजी गर्थे । आज पार्टी खोलेर स्टन्ट गर्छन् । सदनमा स्टन्टबाजी गर्छन् । सदनमा फेसन सो गर्न गाएको, ब्वायफ्रेन्ड-गर्लफ्रेन्ड घुम्ने गएजस्तो स्थिति छ । कसैकसैले त लुगा समेत खोलेका छन् । स्टन्टबाजी र प्रपोगन्डाबाट समाजमा भ्रम सिर्जना हुन्छ । सडक अराजकहरुले कब्जा गर्न थालेका छन् ।’

सामाजिक सञ्जालबाट भ्रम र अफवाह फैलाइएको पनि उनले बताए । बस्नेतले कांग्रेस र एमालेको सरकार बनाएर मुलुकलाई राजनीतिक स्थायित्व दिनुपर्ने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्