Logo

देशका भ्रष्टाचारीहरुलाई जेलमा नकोचेसम्म म बोलिरहन्छु : ऋषि धमला (भिडिओसहित)



काठमाडौं, ३० बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देशका भ्रष्टाचारीहरुलाई जेलमा नकोचेसम्म आफूले देशव्यापी रुपमा भ्रष्टाचारीहरुको विरुद्धमा बोलिरहने बताएका छन् । आज (शनिबार) धादिङको सदरमुकाम धादिङबेसीमा आयोजित धार्मिक महोत्सवलाई सम्बोधन गर्दै धमलाले यस्तो उद्घोष गरेका हुन् ।

उनले भने,‘जबसम्म यो देशका भ्रष्टाचारीहरुलाई जेलमा कोच्न सकिँदैन, तबसम्म म बोलिरहनेछु । म जनताको बीचमा रहनेछु । यहाँ नेपाल किन विकास भएन ? नेपालमा तीन पटक क्रान्ति भयो, नेपाली जनताको सहभागितामा क्रान्ति भएको हो । नेताहरुले क्रान्ति गरे । तर, विकास गर्न सकेनन् । भ्रष्टाचार मात्रै गरे । मान्छेको जीवन भनेको मरेर जाने नै हो । हामी खाली हात आएका हौं । खाली नै जाने हो ।’

उनले अब देशमा भएका विकृति र विसंगतिको विरुद्धमा आफूले बुलन्द आवाज उठाउने बताए । उनले आफूले व्यवस्था परिवर्तनको लागि पत्रकारिता गरेको सुनाउँदै अब विकास र समृद्धिको लागि आवाज उठाउने सुनाए । उनले निलकण्ठमा तिव्र गतिमा विकास हुनुपर्ने भन्दै त्यहीअनुसार आफ्नो भूमिकामा खरो उत्रिन नगरपालिकाका नेतृत्वकलाई अपिल गरे ।

उनले पार्टीभन्दा माथि उठ्न सके मात्रै देश विकास र समृद्ध हुने बताए । उनले देशका नेताहरुका छोराछोरीहरु सम्पन्न भएको तर जनताको छोराछोरीको अवस्था अहिलेपनि उस्तै रहेको गुनासो पोखे । उनले अब जनता चुप लागेर नबस्ने चेतावनी दिए । उनले राजनीतिक नेतृत्व नसच्चिए जनताले अब आँफै समाप्त पारिदिने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot