Logo

लडाकु शिविरको भ्रष्टाचार छानबिन गर्न माओवादी तयार छ : शाही



काठमाडौं, ३१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लडाकु शिविरको भ्रष्टाचारका नाममा नेकपा एमालेले राजनीतिक रोटी सेकाइरहेको आरोप लगाएका छन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पटकपटक प्रधानमन्त्री हुनुभएको छ । उहाँ प्रधानमन्त्री हुँदा लडाकु शिविरको छानबिन गर्न केले रोकेको थियो ? मुखले भनेर मात्र हुँदैन नि । सरकारमा हुँदा त्यस विषयमा प्रवेशै नगर्ने, बाहिर हुँदा चर्काउने गर्दा उसले यसलाई राजनीतिक हतियार मात्र बनाएको छ । त्यसको पुष्टि गर्न नसक्ने भएकाले उहाँले भ्रम फिँजाउने गर्नुभएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
लडाकु शिविरको भ्रष्टाचारको छानबिन गर्न आफ्नो पार्टी तयार रहेको पनि शाहीले बताए । उनले भने, ‘यो विषय मैले पाँच-छ वर्ष पहिले नै उठाएको हुँ । तर आजको दिनसम्म यसबारे छानबिन हुन सकेको छैन । सत्यतथ्य छानबिनका लागि माओवादी केन्द्र तयार छ । वास्तविक भ्रष्टाचारी को हुन् ? सरकारले छानबिन नगर्ने हो भने हामी आफैं गर्छौं । अब हामी एक-एक पर्दाफास गर्छौं ।’
लडाकुको नाममा आफू ब्रह्मलुट मच्चाएर माओवादी र पुष्पकमल दाहाल प्रचण्डलाई दोष लगाउने गरिएको पनि उनले बताए । शाहीले थपे, ‘लडाकु शिविरसम्म सडक बनाउने भनेर करोडौं रुपियाँ निकासा भयो । शिविरका नाममा गयो कि सडक डिभिजन कार्यालयमा गयो ? खानेपानी र अस्थायी टहरा बनाउने भनेर दिएको पैसाको अख्यियारी शिविरको नाममा गएकै छैन । शिविरका लडाकुलाई प्रतिदिन खाना खर्च ६० रुपियाँ र मासिक तीन हजार तलब चेक काटेर खातामा जम्मा गरिएको छ । त्यो कुरा युएनले भन्नुपर्यो नि । लडाकु प्रमाणीकरण गरेको त उसैले हो । शिविर व्यवस्थापन समितिले के हेर्यो त ? यसको दोष नेपाल सरकार र युएन मिसनलाई दिने कि प्रचण्डलाई दिने ?’
प्रतिनिधिसभा सदस्य समेत रहेका शाहीले संसद सचिवालयमा बुझाएको सम्पत्ति विवरण वेबसाइटमा राख्नुपर्ने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot