Logo

भोलिदेखि मेलम्चीको पानी बन्द



काठमाडौं, वैशाख ३१ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट ल्याएर काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको खानेपानी भोलिदेखि बन्द हुने भएको छ ।

मेलम्ची खोलास्थित पानीको मुहानमा आवश्यक मर्मत सम्भार गर्नका लागि १ जेठदेखि केही समयका लागि पानी बन्द गर्न लागिएको आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द हुने बताएका छन् ।
सामान्य बाढी आएका बेला आयोजना सञ्चालनमा नै राख्नेगरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उनले जानकारी दिएका छन् ।

गत मंसिर अन्तिम साता मेलम्चीको खानेपानी आधा वर्षपछि पुनः काठमाडौं उपत्यकाका बासिन्दाका धारासम्म ल्याएर वितरण थालिएको थियो ।

पछिल्लोपटक २०७७ साल चैत दोस्रो सातादेखि काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु भएको थियो । तर, २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढी, पहिरोले संरचनामा नै क्षति पु-याएपछि खानेपानी वितरण बन्द गरिएको थियो ।

त्यसपछि बाढीले क्षति गरेको संरचना मर्मत गरेर अस्थायी रुपमा बनाएको संरचनामार्फत २०७९ वैशाख ११ मा पुनः पानी वितरण गरिएको थियो । सवा एक महिना पानी वितरण गरेपछि बाढीबाट सुरुङलाई जोगाउन भन्दै पुनः पानी वितरण बन्द गरिएको थियो ।

आयोजनाले वर्षा सकिएपछि मेलम्चीको पानी सुरुङमा प्रवेश गराएको हो भने शुक्रबारदेखि काठमाडौं उपत्यकाका धारामा वितरण सुरु गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्