Logo

नक्कली भुटानी शरणार्थी ‘टेस्ट केस’ हो, यसको निष्पक्ष छानबिन नभए देशकै भविष्य अन्धकार छ : डा. लोहनी



काठमाडौं, ३१ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नक्कली भुटानी शरणार्थी प्रकरणले देशमै नैतिक संकट देखिएको बताएका छन् ।
‘देशकै माथिल्ल्लो तहको सहभागितामा नक्कली शरणार्थी बनाउने संगठित अपराध भएको छ । यसले देशमा नैतिक संकट ल्याएको छ । यो टेस्ट केस हो । नेपाल सरकारले हिम्मतसाथ काम गर्नुपर्छ । देशको उपप्रधानमन्त्री, गृहमन्त्री र सचिव भएका व्यक्ति नै राज्यदोहनमा लाग्छन् भने जनताले कसरी विश्वास गर्ने ? अन्तर्राष्ट्रिय समुदायले कसरी पत्याउने ? ठूला वा साना सबैलाई कानुनी कठघरामा उभ्याए मात्र आशाको सिर्जना हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. लोहनीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको दृढता प्रशंसनीय रहेको औंल्याए । उनले भने, ‘तीन दलका मुख्य नेताहरुको भेटघाट बाक्लिएको छ । ठूलठूला भ्रष्टाचार उनीहरुकै पालामा भएका हुन् । यस्तो बेला गृहमन्त्रीको दृढता प्रशंसनीय रहेको छ । जोसुकै होस्, तिनलाई कारबाही गरेर देखाउनुपर्ने आवश्यकता छ । नत्र यसले विदेशी लगानी आउने कुरामा असर गर्छ । भ्रष्टाचारविरुद्ध कस्सिएर नलागे देशकै भविष्य अन्धकार हुन्छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माओवादी लडाकु शिविर भ्रष्टाचारको छानबिन गर्ने अवसर रहेको पनि उनले बताए । डा. लोहनीले भने, ‘प्रचण्डका गुण पनि छन्, अवगुण पनि छन् । उहाँ जे होइन, त्यो देखिनुहुन्छ, जे देखिनुहुन्छ, त्यो हुनुहुन्न । ६ हजार लडाकुलाई ३९ हजार बनाएर क्यान्टोनमेन्टमा राखेर राज्यको दोहन गरेको उहाँले नै स्वीकार गरेका भिडियो छन् । समयको कुरा हो – मान्छे सुध्रिन पनि सक्छ । सत्ताका लागि जे गरे पनि हुन्छ भन्ने लेनिनवादी नैतिकता त्याग्न सक्नुहुन्छ कि सक्नुहुन्न यसै भन्न सक्ने स्थितिमा म पुगेको छैन ।’

अहिले संघीयताको नाममा राणाको सामन्ती शासनभन्दा पनि  चर्को लुटको शासन चलिरहेको आरोप पनि उनले लगाए ।

 



प्रतिक्रिया दिनुहोस्