Logo

अनुसन्धानमा छेकबाँध ! मंगलबारसम्म सक्न निर्देशन



काठमाडौं, जेठ १ । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान मंगलबारसम्म सक्न प्रहरीलाई निर्देशन दिएपछि थप ‘हाई प्रोफाइल’ लाई जोगाउने खेल भएको आशंका बढेको छ। सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।

निर्देशनअनुसार चारदिनको समय मंगलबार सकिनेछ। सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने भन्छन्, ‘प्रहरीलाई मंगलबारसम्म अनुसन्धान सकेर बुधबार प्रतिवेदन बुझाउन भनेका छौं। त्यसपछि अनुसन्धानको पाटो सकिन्छ। समय थपिए पनि अभियोजनका लागि मात्रै थपिन्छ।’

संगठित अपराध निवारण ऐन, २०७० मा आरोपित व्यक्तिलाई अनुसन्धानको प्रगतिका आधारमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ। यही हदम्यादलाई आधार मानेर सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबारपछि प्रहरी अनुसन्धान रोक्नेगरी निर्देशन गरेको हो। ‘संगठित अपराधमा प्रहरी अनुसन्धानको अवधि ६० दिनको हुन्छ। यसै समयभित्र अभियोजन तयार पारी अदालतमा मुद्दा दर्ता गरिसक्नुपर्छ,’ सहन्यायाधिवक्ता नेउपानेले भने। उनले प्रहरीलाई ५३ दिनसम्म अनुसन्धान गर्ने समय दिएको र ५४ औं दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए। उनले भने, ‘त्यसपछि ६(७ दिन त हामीलाई पनि अध्ययन र अभियोजनको तयारी गर्न लाग्छ। ६०औं दिनमा अभियोजनसहित जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गरिसक्नुपर्ने कानुनी बाध्यता छ।’

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा उठाएको गिरोहका तीनजना नाइके मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई गत चैत १२ गते पक्राउ गरेको थियो। सुरुमा ठगीसम्बन्धी कसुरमा उनीहरूविरुद्ध अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा धेरै नाम जोडिन थालेपछि संगठित अपराध कसुरमा अनुसन्धान गर्न थालेको हो। दुलाल, भण्डारी र गुरुङ पक्राउ परेको चैत १२ गतेलाई आधार मानेर अनुसन्धान र अभियोजनको हदम्याद (६० दिन) गणना हुन्छ।

प्रहरी भने जिल्ला सरकारी वकिल कार्यालयले तोकेको समयसीमाभित्र अनुसन्धान टुंगोमा पुर्याउनसक्ने अवस्थामा नरहेको स्रोत बताउँछ। ‘यो गिरोहको जालो ठुलो छ। सयौं व्यक्ति ठगिएका छन्। यसमा धेरैको संलग्नता देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी भन्छन्, ‘यस्तोमा दुईचार दिनमै पूर्ण अनुसन्धान सम्भव छैन।’आरोपितउपर प्रमाण जुटाउन प्रहरी सक्रिय छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्