Logo

माओवादीभित्र पनि धेरै टोपबहादुरहरू छन् : हिमाल शर्मा



काठमाडौं, १ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले लडाकु शिविरलगायत आफ्नाबारे उठेका विषयमा स्वतन्त्र छानबिन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार हुनुपर्ने बताएका छन् ।
लडाकु शिविर प्रकरणबारे विभिन्न अफवाह छन् । तर त्यो माओवादीको नभईकन राज्यको कुरा हो । कहाँ लगानी भयो, कहााँ खर्च भयो, प्रमाण छ भने छानबिनमा ल्याउनुपर्छ । क्यान्टोनमेन्टका बारेमा होस् वा अरु विषयमा, प्रमाण छ भने ममाथि पनि स्वतन्त्र छानबिन हुन्छ, त्यसमा मैल सहयोग गर्छु भनेर प्रधानमन्त्री प्रचण्डले आम जनतालाई अपिल गर्नुपर्छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने । प्रधानमन्त्री प्रचण्डलाई अहिले प्रशस्त अवसर भएको पनि उनले बताए ।
नेता शर्माले प्रमुख राजनीतिक दलका नेताहरुबाट नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको दायरा आफूसम्म आए पनि त्यसका लागि तयार रहने प्रतिबद्धता आउनुपर्ने पनि औंल्याए । उनले भने, शीर्ष नेताहरु प्रिन्सिपल्ली ठीकै छन् । तर आफ्नो पार्टी र आफ्नो परिवारको नजिक आउँदा तरंगित हुनुभएन । उनीहरुबाट छानबिनको दायरा आफूसम्मै आए पनि नरोक्ने प्रतिबद्धता आउनुपर्छ ।’
शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता प्रशंसनीय रहेको पनि उनले बताए । शर्माले भने, ‘उच्च ओहदामा रहेका व्यक्तिहरु नै देशद्रोही काममा लागेको खबरले आम नेपालीकै शिर झुकाएको छ । यसलाई पुलिस प्रशासनले टुंगोमा पुर् याएर जनताको विश्वास जगाउनुपर्छ । प्रचण्डले जोगाउने कुरा भए भित्रभित्रै गुपचुप गर्थे होला । तर प्रधानमन्त्रीले जसरी प्रतिबद्धता जनाइरहनुभएको छ, त्यसबाट दोषीहरु अवश्य पनि कारबाहीमा पर्नेछन् ।’
एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको विचलनले आफूहरु स्तब्ध भएको पनि शर्माले बताए । उनले भने, ‘युद्धकालमा टोपबहादुरजी आदर्श हुनुहुन्थ्यो । त्यसमा उहाँको योगदान पनि थियो । तर बिस्तारै राजनीतिक र वैचारिक रुपमा विचलित हुँदै राष्ट्रद्रोहको मुद्दामा मुछिनुभयो । उहाँजस्तो व्यक्तिले नैतिक हिसाबले किन नो भन्न सक्नुभएन ? यो त लाजमर्दो कुरा हो । माओवादीभित्र पनि धेरै टोपबहादुरहरू छन् । उनीहरु कुन पृष्ठभूमिबाट आएका हुन् ? अहिले कस्तो जिन्दगी बिताइरहेका छन् । माइक्रो लेबलबाट छानबिन गर्नुपर्छ ।’
पूर्व माओवादी नेता रामबहादुर थापा बादल पनि छानबिनको दायरामा आउने उनले बताए । शर्माले थपे, ‘उहाँ प्रत्यक्ष संलग्न भएको प्रमाण नभए पनि उहाँको छोरा प्रतीकले बादलको आशय नलिईकन काम पक्कै गरेन होला । त्यसैले उहाँ पनि छानबिनको दायरामा आउनुहुन्छ जस्तो लाग्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot