Logo

एमाले नेताको टिप्पणी- टोपबहादुरजी शेरबहादुरकै छिमेकमा त रहेछन् नि



काठमाडौं, १ जेठ । नेकपा एमालेका नेता एवं केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई आफ्नो पार्टीले नलुकाएको दाबी गरेका छन् ।
‘टोपबहादुरजीलाई पार्टीले निलम्बन गरिसकेको छ । उहाँ यत्रो दिनसम्म किन भाग्नुभएको हो ? सुरुमै हाजिर भएको भए हुन्थ्यो । तर दूधको दूध पानीको पानी हुनुपर्छ । प्रचलित कानुनभन्दा दायाँबायाँ हुनुहुन्न । उहाँको बारेमा जे जति हल्ला आए, त्यही सत्य रहेछन् । टोपबहादुरजी दिल्लीमा पक्राउ परेको समाचार आएको थियो तर शेरबहादुर (देउवा) कै छिमेक बूढानीलकण्ठमा त रहेछन् नि । तर बुटवल र बूढानीलकण्ठबाहेकका सूचना पार्टीसँग थिएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
उनले छोराछोरीको गल्तीमा नेताहरुलाई मुछ्न नमिल्ने जिकिर पनि गरे । बडालले भने, ‘रामबहादुर थापा र टोपबहादुर रायमाझी जतिचोटि मन्त्री भए पनि माओवादीले नै बनाएको हो, प्रचण्डजीले नै बनाउनुभएको हो । एमाले भएपछि मन्त्री बन्नुभएको होइन नि । जहाँसम्म रामबहादुरजीको कुरा छ, उहाँको परिवारको कुनै सदस्य मुछिए भन्दैमा सबैलाई जोड्न मिल्दैन । बाबुआमाको गल्तीमा छोराछोरी र छोराछोरीको गल्तीमा बाबुआमालाई दोष लगाउन मिल्दैन । ‘तर नेताका परिवारका सदस्य पनि स्वच्छ र अनुशासित हुनुपर्छ भन्नु उचित भएको उनले औंल्याए ।
एमालेमा कोही पनि संघीयता र धर्मनिरपेक्षता विपरीत नजाने उनले जिकिर गरे । नेता बडालले भने, ‘हामी सबै संविधानको स्पिरिटअनुसार चल्नुपर्छ । संघीयता र धर्मनिरपेक्षता विपरीत जान चाहने हो भने उसले पार्टीबाट बिदा हुनु उचित हुन्छ ।’ प्रचण्डले क्यान्टोनमेन्टमा २० अर्ब घोटाला गरेकाले पार्टी छाडेको भन्ने आरोप बाबुराम भट्टराईले नै लगाएकाले त्यसमा छानबिन हुनुपर्ने आफ्नो पार्टीको जोड रहेको पनि उनले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्