Logo

रेशम चौधरीको रिहाइ आजै !



काठमाडौं, १ जेठ । टीकापुर काण्डपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी रिहाइ मुद्दामा आज फैसला हुने सम्भावना रहेको उनको पक्षका अधिवक्ता स्वागत नेपालले बताएका छन् ।
‘विचाराधीन मुद्दामा यही हुन्छ भनेर अदालतलाई प्रभावित हुने गरी मैले बोल्न मिल्दैन । तर रेशम चौधरीजीलाई जुन हत्याको मुद्दा लागेको छ, त्यस्तो घटनामा व्यक्ति स्वयं उपस्थित भएको वा सोझै संलग्नता हुनुपर्छ । उहाँ त्यस स्थानमा हुनुहुन्न । त्यसमा अदालत पनि कन्भिन्स छ । हत्या योजनामा पनि उहाँ संलग्न देखिएको अवस्था छैन । माओवादीहरुले जस्तो पहिले नै जनअदालतले फैसला गरेको पनि होइन । त्यसकार आज जिल्ला र उच्च अदालतको फैसलाको समीक्षा हुने र उहाँले सफाइ पाउने अनुमान भने गर्न सक्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
आज अदालतमा चौधरीले आफ्नो कुरा नराख्ने पनि अधिवक्ता नेपालले बताए । उनले भने, ‘उहाँले आफ्नो कुरा राख्छु भन्न पाउनुहुुुन्छ । तर त्यसका लागि उहाँले निवेदन दिनुपर्ने हुन्छ । त्यसो गर्दा फैसला ढिलो हुने भएकाले उहाँले त्यस्तो नगर्नु होला ।’
टीकापुर घटना हुनुभन्दा अघिल्लो दिनसम्म चौधरी शेरबहादुर देउवा र कैलालीका प्रमुख जिल्ला अधिकारीसँग सम्पर्कमा रहेको पनि नेपालले बताए । उनले भने, ‘उहाँहरुसँग चौधरीले स्थिति नियन्त्रणबाहिर जान लागेकाले कफ्र्यु लगाइदिनुस् भनेको देखिन्छ । तसर्थ उहाँमाथि राजनीतिक आधारमा मुद्दा लगाइएको छ ।’
मुद्दा आज फैसला हुने वा नहुने आजको मुद्दामा बहस पैरवी गर्नेले कति समय लिन्छन्, त्यसमा निर्भर हुने पनि नेपालले औंल्याए । उनले भने, ‘आज रिहाइ हुने वा नहुने न्यायाधीशले सरकारी वकिललाई दिने समयमा भर पर्छ । समय छोटो भयो भने फैसला आजै आउँछ ।’ सरकारी समय कार्यालय समयभित्रै फैसला भयो भने रिहाइ पनि आजै हुने अधिवक्ता नेपालले बताए ।

 



प्रतिक्रिया दिनुहोस्