जानकी, ३ जेठ ।बाँकेको कोहलपुर नगरपालिकाले थारू समुदायका व्यक्तिमा देखिएको सिकलसेल तथा थालेसेमियाका बिरामीलाई स्वास्थ्य बीमा गरिदिने भएको छ । सिकलसेल तथा थालेसेमियाका बिरामीको उपचारमा सहयोग पु¥याउनका लागि बीमा गराउन लागिएको कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले बताए ।
उनले आर्थिक वर्ष २०८०/८१ देखि सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा नगरपालिकाले गर्ने बताएका हुन्। “उपचारका क्रममा सम्पत्ति सकिने अवस्था अन्त्य गर्न नगरपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ”, उपप्रमुख सुवेदीले भने, “आर्थिक अवस्था कमजोर भएकै कारण उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिका संवेदनशील भएको हुनाले स्वास्थ्य बीमा गरिदिन लागिएकोे हो ।”
सिकलसेलका बिरामीले राज्यबाट उपचारका लागि रु एक लाख पाउँदै आएका छन् । जनस्वास्थ्यमा समस्याका रुपमा रहेको र उपचारका लागि उक्त रकम पर्याप्त नभएको भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा राजन पाण्डेले बताए । ‘सिकलसेल र थालेसेमियाका बिरामीले बाँचुन्जेल उपचार गर्नुपर्ने हुन्छ । उपचार गराउँदा गराउँदै सम्पत्ति सकिने अवस्था छ”, उनले भने ।
डा पाण्डेले सिकलसेलका बिरामीले पाउँदै आएको रकमसमेत अपुग भएको बताए । राज्यले दिने रु एक लाख सकिएपछि सिकलसेलका धेरै बिरामी उपचारबाट वञ्चित भइरहेका छन् । सिकलसेल तथा थालेसेमियाजस्ता रोगबाट ग्रसित रोगी सबैलाई स्वास्थ्य बीमामा समेट्नु पर्नेमा डा पाण्डेको सुझाव थियो ।
कोहलपुर नगरपालिकामा मात्र सिकलसेलका ११ हजारको परीक्षण गर्दा ९२ जना ट्रेड र एक हजार बढी वाहक फेला परेका छन् । त्यसैगरी, एक सय ५० जना थालेसेमियाका वाहक फेला परेको वडा नं १५ का अध्यक्ष दीपेन्द्र चौधरीले जानकारी दिए । रासस