Logo

केही दिन अझै वर्षा हुने



काठमाडौं, जेठ ५। अझै केही दिन वर्षाको क्रम जारी रहने भएको छ । पश्चिमी वायु, स्थानीय वायुसँगै पूर्वी वायुको चहलपहल बढेकाले वर्षाको क्रम बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबारसम्म वर्षाको घनत्व कायम रहने छ । सोमबारदेखि हल्का सुधार हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सो अवधिमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

एक साताअघि विकसित वर्षाको प्रणालीका क्रममा स्थानीय वायुको विकास थप बलियो बनेकाले वर्षा लम्बिएको श्रेष्ठले जानकारी दिए । लम्बिएको वर्षाले मनसुनका लागि वातावरण बनाउँदै गएको अनुमान महाशाखाले गरेको छ ।

उनले भने, “अहिले पूर्वबाट तल्लो वायुमण्डलको मार्गबाटै जलवाष्प आइरहेको छ, यसले अब मनसुनका लागि नेपालमा वातावरण बनाइरहेको छ ।” मनसुन भित्रिनका लागि पूर्वीय वायुले पश्चिमी वायुलाई विस्थापित गर्नुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्