Logo

क्यान्टोनमेन्टमा घोटाला भयो भन्नु राजनीतिक दुष्प्रचार मात्रै : माओवादी नेता



काठमाडौं, ५ जेठ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं सांसद देवेन्द्र पौडेलले नेपाल सरकार, नेपाली सेना, अनमिनको प्रतिनिधि समेत बसेर प्रमाणीकरण गरिएका लडाकुलाई दिएको पकेट खर्चबारे अनेक दुष्प्रचार गरिएको आरोप लगाएका छन् ।
‘हिजो संसदमै प्रधानमन्त्री प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भएको छ भने जेल जान तयार छु भनेर चुनौती दिनुभएको छ । यो सब माओवादीलाई होच्याउन गरिएको दुष्प्रचार मात्र हो । एउटै विषय सधैं कोट्याइरहने, विरोध गरिरहने विषयबाहेक केही होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
माओवादी नेता पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०४६ सालयताका सबै भ्रष्टाचारका फाइल खोल्न तयार रहेको पनि बताए । उनले भने, ‘अहिले पूर्वउपप्रधानमन्त्रीसम्म छानबिनमा तानिएका छन् । प्रचण्ड २०४६ सालपछिको सबै भ्रष्टाचारको फाइल खोल्न प्रधानमन्त्री तयार हुनुहन्छ । त्यसमा जनता र दलहरुको साथ चाहियो । सबैको साथ र सहयोग भयो भने उहाँले काम गर्न सक्नुहुन्छ ।’
साथै उनले रेशम चौधरीलाई जेलबाट छुटाउन सरकार अघि बढेको पनि बताए । पौडेलले थपे, ‘रेशम चौधरीको रिहाइ सरकारभन्दा पनि अदालतको कुरा हो । सरकार उहाँलाई कहीं न कहीं छुटाउनु पर्छ भनेर लागेकै छ । कानुनी हिसाबले दिँदासम्म त्यो कुरा अघि बढ्छ ।’
अर्को प्रसंगमा पौडेलले जेठको तेस्रो साता हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिमूलक हुने दाबी पनि गरे । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक हो । दुई देशबीचको व्यापार, सीमा समस्या, पूर्वाधार विकास र सुरक्षाका विषयमा भारतसँग कुराकानी हुन्छ । हामी आपसी हितको प्रवद्र्धन गर्न चाहन्छौं । भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रधानमन्त्रीले सबैको सुझाव लिएर जानुहुुन्छ ।’



प्रतिक्रिया दिनुहोस्