Logo

यसकारण नेपाल समृद्ध हुनु जरूरी छ



— शिशिर शर्मा —

हामी नेपाली जाति हौं। यो ध्रुवसत्य हो। यसमा दुईमत छैन।

सर्वप्रथम त जाति के हो? हामीले त्यही कुरा बुझेका छैनौं। हामी जाति र राष्ट्रियतालाई छुट्याउनै नसकिरहेको स्थितिमा छौं। जाति र राष्ट्रियता यी दुवै कुरा एकदमै फरक कुरा हुन्। राष्ट्रियता र जाति एउटै खोलाको दुई किनारजस्ता हुन्। तर, हामीले यसलाई एकै धारामा बगाउने कोसिस गर्दा घरिघरि समस्यामा परिरहेका हुन्छौं।

राष्ट्रियताको निर्दिष्ट सिमाना हुन्छ। सार्वभौमसत्ता हुन्छ। त्यो स्थिर हुन्छ। राष्ट्रियता भन्ने कुरा समय, काल र परिस्थितिमा परिवर्तन हुन सक्दैन। तर, जातीयताको कुनै सिमाना छैन। कुनै निर्दिष्ट जग्गा हुँदैन। न यसलाई सिमानाले छेक्छ, न यसको कुनै क्षेत्रफल हुन्छ। यसैले राष्ट्रियता र जातीयता भनेको दुई भिन्न विषय हुन्।

मैले अघि नै भनिहालें- हामी नेपाली जाति हौं। र, यसलाई हामीले परिवर्तन गर्नै सक्दैनौं। तर, अधिकांश नेपालीभाषीलाई हामी नेपाली हौ- भन्नु हीनतबोध भइरहेको देखिन्छ। यसको धेरैवटा कारण छन्। जुन कारणले गर्दा आज हाम्रो जाति विलीन हुँदै गइरहेको छ। हामी घरि गोर्खा भन्छौं, घरि भारतीय नेपाली/गोर्खा भन्छौं, घरि अमेरिकन नेपाली भन्छौं। घरि अष्ट्रेलियन नेपाली भन्छौं। हामी किन भन्न सक्दैनौं कि ‘हामी सिङ्गो नेपाली जाति हौ ?’

मेरो बुझाइमा यदि नेपाल राष्ट्र समृद्ध र शक्तिशाली हुँदो हो त सबैले गर्वसँग हामी नेपाली हौं- भनिरहेका हुनेथियौं। यसै त पुराण, वेद आदि ग्रन्थहरूमा पनि हाम्रो जातिको उल्लेख धेरै ठाउँमा भएको पाइन्छ। वेदव्यास, जो चाहिँ स्वयं नेपालको दमौली भन्ने ठाउँमा तपस्या गरेर बसेको बताइन्छ। जुन जग्गा अहिलेसम्म पनि यथावत् छ। यसलाई मान्नेहरू भन्ने पनि वेदव्यास आफैं पनि नेपालसँग जोड़िएका थिए। सिद्धार्थ गौतम बुद्ध नेपालको कपिलवस्तुस्थित लुम्बिनीमा जन्मिएका थिए। रामायण र महाभारत जस्ता ग्रन्थमा अधिकांश नेपाली जग्गालाई उल्लेख गरिएको छ। भर्खरै भारतमा राममन्दिर निर्माणका निम्ति तथा राम-सीताको मूर्ति निर्माण हेतु नेपालबाट शिला ल्याइएको थियो। यी सब कुराहरूले के प्रमाणित गर्छ भने, हिन्दु सभ्यताको मूल केन्द्रबिन्दु नेपाल हो।

यतिमात्रै होइन, पशुपतिनाथ मन्दिर विश्वकै शिव मन्दिरहरूको शिर मानिने गरेको छ। यसका मूल पूजारीलाई तर भारतको कर्नाटकबाट ल्याएर एक लाख पच्चीस हजार रूपियाँसम्म मासिक तनखा दिएर राखिएको छ। यसो किन गरिएको होला? सन्देहको घेरोमा छ। नेपालका राजाले फेरि आफ्नो गर्दा रानी चाहिँ राजस्थानबाट नै ल्याइन्थ्यो? यी सबै कारणहरूको तथ्य निर्क्योल गर्न अति आवश्यक छ। विश्वमा नै रहेको एक मात्रै हिन्दूराष्ट्र नेपाललाई आज किन हटाएर धर्मनिरपेक्ष बनाउने वाध्यता किन आइपर्‍यो होला ?

यता भारतले विश्वगुरू बन्ने दौड़मा हिन्दूत्वलाई नै मूल हतियार बनाइरहेको छ। त्यति मात्रै होइन, भारतको राजनीति नै हिन्दू केन्द्रित भइरहेको छ। तर, नेपालले हुँदाहुँदै हिन्दूराष्ट्रलाई हटाएर लग्यो। किन नेपाललाई हिन्दूराष्ट्र भन्नु चाहिँ हीनताबोध हुँदैछ ?  यो प्रश्न सन्देहजनक छ।

यहीँबाट बुझिन्छ कि, नेपाली जाति र नेपाली सभ्यतालाई मास्ने षड़यन्त्र धेरै वर्षअघिदेखि भइरहेको छ। मलाई लाग्छ, नेपालले हिन्दूराष्ट्र मास्नुमा षड़यन्त्रको शिकार बन्नुपरेको छ। यदि हिन्दूराष्ट्र हुँदो हो त आज विश्वमा नेपालको पहिचान अलग हुनेथियो। अहिलेको अवस्थामा नेपाललाई कमजोर बनाएर नेपालको समृद्ध लुट्ने काम विदेशीहरूले गरिरहेका छन्।

नेपाल आफैंमा एउटा समृद्ध देश हो। जो आफैंमा हर क्षेत्रबाट सक्षम छ, आफैंमा स्वनिर्भर हुनुको निम्ति भरपूर प्राकृतिक संसाधन छ। लाखौं ऊर्जावान नागरिक छन्। तर, यति हुँदाहुँदै पनि नेपाल बिस्तारै आफैं कमजोर हुँदै गइरहेको छ।

नेपालको शिक्षाको व्यवस्थालाई हैरौं, छात्रवृत्ति दिएर राम्रा विद्यार्थीहरूलाई बाहिर लगिन्छ। दूधको तर काटेजस्तै राम्रा र क्षमतावान् विद्यार्थीहरूलाई टिपेर लगिदिन्छ। त्यसपछि उनीको फाइदाका निम्ति उपयोग गरिन्छ। फेरि शिक्षा व्यवस्थामा पाश्चात्य शिक्षाले व्यापक प्रभाव पारिरहेको छ। जसले हाम्रो सांस्कृतिक र आध्यात्मिक क्षेत्रलाई नै तहनहस बनाइरहेको छ।

हामीले हाम्रा स्कूल-कलेजमा पुर्खाको इतिहास र संस्कृतिको इतिहासलाई पढाइनुपर्ने हो। र नै हाम्रो संस्कृति र जातीयताको पहिचान मजबुत भएर जाने थियो। यसको विपरीत सानैदेखि वैदेशिक शिक्षाले हाम्रो जातिमा नकारात्मक प्रभाव पार्न थालेको छ। जसले गर्दा हाम्रो जातीयतामा हीनताबोध सृष्टि भइरहेको देखिन्छ। नेपाली जातिमात्रै यस्तो सिङ्गो जाति हो, जसमा मंगोलियन, आर्यन सबै वर्णका जातहरू मिसिएका छन्। अरू कुनै जातिमा यसतो विभिन्नता देख्न पाउँदैनौं। तर वैदेशिक षड़यन्त्रले गर्दा हाम्रो सिङ्गो नेपाली जाति जात-जातमा विभाजित हुँदै गइरहेको छ।

नेपाली जाति श्रमकारी र बौद्धिक जाति हुन् । तर त्यो श्रम र बौद्धिकता सबै अरूका लागि नै लगानी भइरहेको छ। यी कारणहरूले गर्दा हाम्रो जातियतामा ठूलो कम्जोरी देखा परिरहेको छ। अब पनि हामीले जाति एकीकरणका निम्ति ढिलाइ गरे, हाम्रो जातिको अस्तित्व नै मेटिएर जाने सम्भावना छ। नेपाली जातिको एकीकरण र समृद्धिको पहल चैं नेपाल राष्ट्रले नै गर्नु जरूरी हुन्छ। र, अहिले नेपाली जातिको लागि राजनीतिभन्दा माथि उठेर जातिगत एकीकरण गर्नु अनिवार्य छ।

अहिलेको नेपाली राजनीतिलाई हेरौं, नयाँ युवाहरू उत्साहजनक रूपले अघि आइरहेका छन्। यो सराहनीय पहल हो। हर्क साम्पाङ, रवि लामिछाने, बालेन शाह, राजेन्द्र लिङ्देन, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता जुझारू नेताहरू देखापर्नु शुभ संकेत हो। राजनीतिदेखि माथि उठेर जाति एकीकरणतिर पनि लागे विश्वकै नेपाली जातिले उनीहरूलाई समर्थन गर्ने थियो होला कि ? यसबारे पनि उनीहरूले भविष्यमा सोच्लान् कि ?

भारतमा हेर्‍यौं भने अहिले पनि हामी गोर्खा – नेपाली भन्दै लड़िरहेका छौं। हाम्रो ठूलो शक्ति यसैमा लगानी भइरहेको छ । आखिर हामी नेपाली हौ वा गोर्खा ?  सिक्किममा नेपाली भनेर खुशी हुने हामीले दार्जीलिङतिर गोर्खा भनेर दाबी गरिरहेका छौं। तर, भारतले नेपाली भाषालाई समेत आठौं अनुसूचीमा सामेल गराएर सरकारी मान्यता दिइसकेको छ। सिक्किमको कुरा गर्ने हो भने सिक्किममा नेपालीभाषी मुख्यमन्त्री छन्। केही दिन अघिमात्रै कोर्टले विदेशीको लाञ्छना लगाउँदा सुप्रिम कोर्टले समेत उक्त कुरा फिर्ता लिइएको थियो।

तर, गोर्खा शब्दले हामीलाई कहिलेकाहीं विभाजनको भूमिका पनि खेलिरहेको देखिन्छ। गोर्खा रेजिमेन्टलाई नै हेरौं । यसका दसवटा बटरलाइनको जम्मै सिपाही भर्ती एक समय नेपाली मूलका हुन्थे। उनीहरूलाई चिन्हित गर्नुको निम्ति गोर्खा- शब्द प्रयोग गरिएको थियो। यसै गरेर भारतमा अहिले पनि दरवान कार्य गर्ने अधिकांशलाई नै गोर्खाको संज्ञा दिने गरेको छ। यसमा नेपाली नभएर अन्य जातिलाई पनि दरवानी गरे गोर्खा नै भनेर बोलाइने गरेको देखिन्छ। मलाई लाग्छ, गोर्खा शब्दले अहिले पनि हामीलाई नेपाल राष्ट्रकै नागरिक भनेर चिनाउन सहयोग गरिरहेको छ।

राष्ट्रियता भन्नुका निम्ति विश्वको सिको गर्ने हो भने पनि ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनाकलाई हेर्न सक्छौं। उनी अहिले पनि खुलेआम भन्छन्, ‘म भारतको पञ्जाबबाट आएको हुँ। मेरो अरिजन भारत हो।’ तर, पनि ब्रिटेन देशजस्तो समृद्ध देशमा उनी प्रधानमन्त्री भएर बसेकै छन्। त्यस्तै अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस पनि भारतीय मूलकी हुन्। उनी विश्वकै शक्तिशाली देशको उपराष्ट्रपतिको पदमा अहिले पनि आसिन छन्।

अब नेपाल र भारततिरै फर्कौं। सिमाना जोड़िएको, रोटीबेटीको सम्बन्ध भएको भारतीयहरूले सन् १९५० को सन्धिको सुन्दर उपयोग गरिरहेको छ। तर, त्यसको तुलनामा नेपाल राष्ट्रले त्यसलाई कमजोर रूपले परिचालन गरिरहेको छ। सन् १९५० को सन्धिले त नेपाल र भारतको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने हो। तर, यसको ठीक विपरीत नेपालले यसको सही प्रयोग अहिले पनि गर्न सकिरहेको छैन। कतै यसमा नेपालकै कमजोरी त छैन?

कालेबुङ

 



प्रतिक्रिया दिनुहोस्