Logo

रामचन्द्र पौडेल जनताको राष्ट्रपति हुँ भन्ने सन्देश दिन सफल हुनुभएको छ : डा. नेपाल



काठमाडौं, ६ जेठ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर र राष्ट्रपतिका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले आगामी बजेट यथार्थपरक आउने संकेत देखिएको बताएका छन् ।
‘हिजोको नीति तथा कार्यक्रममा सरकारले आर्थिक अवस्था सहज छैन भनेको छ । नेपालका विसंगति राम्रोसँग उजागर गर्दै आर्थिक र सामाजिक विकास कसरी गर्न सकिन्छ भनेर दिशानिर्देश गरेको छ । राजस्वको स्थिति कमजोर भएकाले सानो आकारको बजेट आउने संकेत गरेको छ । यस अर्थमा आगामी बजेट यथार्थपरक आउने देखिन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. नेपालले नीति तथा कार्यक्रमले नयाँ र ठूलठूला कार्यक्रम घोषणा गर्ने भन्दा पनि पुरानै कार्यक्रमको निरन्तरता दिने भनिनु सकारात्मक रहेको औंल्याए । उनले भने, ;सरकारको नीति तथा कार्यक्रमले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न ध्यान दिएको छ । भ्रष्टाचार नियन्त्रण, पुँजीगत खर्च र आर्थिक वृद्धि, उत्पादन र रोजगारी सिर्जना, खर्चमा मितव्ययिता, गरिबी न्यूनीकरण, पर्यावरणीय समस्याको दिगो समाधान, शान्तिप्रक्रियालाई निष्कर्ष आदि कुरा सम्बोधन भएको छ । यो सकारात्मक पक्ष हो ।;
सरकारले जति राम्रो नीति तथा कार्यक्रम आए पनि प्रतिपक्षले कर्मकाण्डी भन्ने चलनै भइसकेको पनि उनले बताए । डा. नेपालले थपे, ;जनता र निजी क्षेत्रको माग अनुसार नै नीति तथा कार्यक्रम आएको छ । म यसलाई १० मा ९ नम्बर दिन सक्छु ।’
हिजो संसद्को तामझामविहीन सवारीले रामचन्द्र पौडेल जनताको राष्ट्रपति हुन खोजेको देखिएको पनि उतले बताए । डा. नेपालले भने, ‘उहाँ जनताको राष्ट्रपति हुँ भन्ने म्यासेज दिन सफल हुनुभएको छ । जनतामा पनि राष्ट्रपति पनि हामीजस्तै हो भन्ने आभास भएको छ ।’



प्रतिक्रिया दिनुहोस्