Logo

ठूला सरुवामा अदृश्य शक्तिको हात



काठमाडौं, जेठ ७ । निजामती प्रशासनमा कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि पछिल्ला दिनमा ठूला पदमा हुने सरुवामा राजनीतिक नेतृत्वको अत्यधिक रुचि बढ्ने गरेको पाइएको छ । यसरी ठूला सरुवामा रुचि राख्ने राजनीतिक नेतृत्वलाई भने अदृश्य शक्तिले परिचालन गर्ने गरेको दाबी स्रोतको छ । स्रोतका अनुसार अदृश्य शक्तिले नीतिगत अनियमितताको आधारभूमि बनाउन ठूला सरुवामा हस्तक्षेप गर्ने गरेका छन् ।

सचिव, सहसचिव, महानिर्देशकको सरुवामा राजनीतिक नेतृत्वको रुचि र चाख बढ्दा सरुवा अपारदर्शी बनेको छ । उच्च तहमा हुने अस्वाभाविक र अपारदर्शी सरुवाले नीतिगत भ्रष्टाचार बढाइरहेको स्रोतको दाबी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकृतले भने– ‘सचिव, सहसचिव र महानिर्देशकको सरुवामा अदृश्य शक्ति हाबी भइरहेको देखिन्छ, अदृश्य शक्तिको लक्ष्य नीतिगत भ्रष्टाचारको लागि आधार बनाउनु नै हो ।’

स्रोतका अनुसार नीतिगत भ्रष्टाचारको डिजाइनिङ गर्ने अदृश्य शक्तिले राजनीतिक नेतृत्वलाई आफ्नो वशमा पारेर प्रशासनिक नेतृत्वको समेत फेरबदल गर्ने गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई त्यतिखेर गृहमा लैजान त्यस्तै शक्ति सक्रिय भएर लागेको स्रोतको दाबी छ । पाण्डे आफ्नो जागिर अवधिमा कहिल्यै पनि गृह मन्त्रालय र मातहतका निकायमा बसेका थिएनन् । तर, एक्कासी गृहसचिव भएपछि भने गृहका कैयौं कर्मचारीहरूले अचम्ममा पर्दै त्यतिखेरै अनिष्ट हुन सक्ने दाबी गरेको बताइन्छ । गृहअन्तर्गतकै निकायमा लामो समय बसेका हालका बहालवाला एक सचिवले गृहमा कहिल्यै नबसेका पाण्डेको आगमन अदृश्य शक्तिकै कारण भएकाले उनी अन्तत ‘कु’मा पर्नुपरेको बताए । ती सचिवले भने – ‘उनी कुमा परे नै, त्यसका साथै सिंगो निजामती प्रशासनको साख ध्वस्त बनाउने काम पनि गरे । ’

स्रोतका अनुसार तत्कालीन गृहसचिव पाण्डे माध्यम मात्रै बनेका थिए । उनलाई राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वलाई समेत चलाउने अदृश्य शक्तिले परिचालन गरेको थियो ।

सामान्यतया सचिव, सहसचिवको सरुवा मुख्य सचिवको सल्लाहमा मन्त्रिपरिषद्ले गर्दा त्यो प्रभावकारी हुन्छ । तर, पछिल्ला दिनमा हुने सहसचिव र सचिवको सरुवामा मुख्य सचिवसमेत बेखबर हुने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ ।

‘मन्त्रिपरिषद् बैठकमा एकै चोटी सचिव, सहसचिव सरुवाको प्रस्ताव आउने गरेको छ, त्यसमा मुख्य सचिवले प्रमाणीकरण गर्ने समयमा मात्रै थाहा पाउनुहुन्छ ।’ स्रोतले भन्यो । सहसचिव सरुवाको सूची भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषद्मा पुग्छ । मन्त्रिपरिषद् पुग्दा नपुग्दै त्यो सरुवा सूचीमा समेत उलटपुलट हुने गरेको बताइन्छ । प्रधानमन्त्री तथा उनका स्वकीय र निजी सचिवालयका कर्मचारीले समेत सहसचिव सरुवामा हस्तक्षेप गर्ने गरेको स्रोतले जानकारी दियो ।  आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्