Logo

सरकार आत्मप्रशंसा र आत्मस्तुतिमा मात्रै लाग्यो : एमाले सचेतक



काठमाडौं, ७ जेठ । प्रतिनिधिसभामा नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारको नीति तथा कार्यक्रम पुरानैको ‘कपी-पेस्ट’ भएको आरोप लगाएका छन् ।

‘सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रको संकटमोचन र दिशाबोध गर्ने किसिमले आएन । यसमा केटाकेटीपन देखियो । सरकारले देशको नेतृत्व गर्न सक्छ भन्ने देखिएन । बजेटको प्राथमिकता र सिद्धान्त प्रस्तुत गर्दा अर्थमन्त्रीले मुलुकको अर्थतन्त्र असामान्य बताएको हप्तादिन नबित्दै आएको नीति तथा कार्यक्रमको पाँचौं बुँदा मा नम्बरमा सबै ठीकठाक छ भनिएको छ । आत्मप्रशंसा र आत्मस्तुतिका लागि ल्याइएको मात्र ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन हुने स्थिति नै छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
बर्तौलाले मुलुकको यथार्थ र आवश्यकताको सम्बोधन नभएको आरोप पनि लगाए । उनले भने, ‘यो नीति तथा कार्यक्रम कार्यान्वयनका लागि होइन, भ्रम छर्नका लागि ल्याइएको हो । यो देश र जनताका निम्ति दुर्भाग्यपूर्ण छ । देशलाई गरिनेछ, बढाइनेछ भन्ने भन्दा पनि गर्छौं, बढाउँछौं भन्नुपर्छ । आन्तरिक स्रोत परिचालन गर्ने र बाहिरको आयात रोक्ने कार्यक्रम छैनन् ।’

सीमालगायतका समस्या समाधानको विषय नीति तथा कार्यक्रममा नसमेटिएको बर्तौलाले बताए । साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा त्यस दिशामा सफल बनाउनुपर्ने औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्