Logo

अर्थतन्त्रलाई जोगाउने कि कुदाउने भन्नेमा सरकार स्पष्ट भएन : अर्थविद्



काठमाडौं, ७ जेठ । अर्थविद् डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रमको मनसाय राम्रै भए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् ।
‘सरकारको नीति तथा कार्यक्रम नियमित किसिमले आयो । मुलुकको अर्थतन्त्रमा चुनौती छन् भन्ने तथ्यलाई ग्रहण गरिएन । बुँदा ५ र ६ मा अर्थतन्त्र लयमा जान लागेको र सबै सूचक सकारात्मक भएको भन्नु गलत हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. अधिकारीले नारा र नीति, नीति र कार्यक्रम, कार्यक्रम र बजेटबीच अन्तर्सम्बन्ध नहुँदा यसको कार्यान्वयन फितलो हुने औंल्याए । उनले भने, ‘यो बेला फेयर खालको नीति र बजेट चाहिएको छ, पपुलर होइन । अहिले अर्थतन्त्रलाई जोगाउने बेला हो, कुदाउने होइन । सरकारको नीति तथा कार्यक्रम अर्थतन्त्रलाई कुदाउने कि जोगाउने भन्नेमा स्पष्ट हुन सकेन ।’
सरकारको नीति तथा कार्यक्रम भविष्यको कुरा गर्न खोजे पनि वर्तमानको समस्या समाधानमा नलागेको उनको टिप्पणी छ । डा. अधिकारीले भने, ‘सरकारले सहकारी क्षेत्रको संकट समाधान गर्न खोजेन । लगानी र बचतकर्ता जोखिम परेका छन् । यसबारे ठोस समाधान आएन ।’
६० प्रतिशत सम्बोधन हुने गरी कार्ययोजनासहितको बजेट आउनुपर्ने डा. अधिकारीको सुझाव छ । उनले भने, ‘नीति तथा कार्यक्रमले त संकेत मात्र गर्ने हो । पौने दुई घन्टा पढ्नै पर्दैन । नयाँ कार्यक्रम ल्याउन स्रोत र साधन कसरी पुग्छ ? हाम्रो खर्च गर्ने क्षमता पनि छैन । हाम्रो नीति तथा कार्यक्रम लेखिएर मात्र बस्यो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot