काठमाडौं, ७ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा प्रमुख तीन दलका नेताहरुबीचको भेटवार्तालाई लिएर शंकाको दृष्टिकोणले हेरिएकोमा आपत्ति जनाएका छन् । उनले संसदलाई चलाउनको लागि आवश्यक पहल लिनको लागि गरिएको भेटवार्ताबारे सन्देह गरिनु दुःखद् भएको टिप्पणी गरे । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी तीनजना मध्ये पनि दुई जना चाहिँ दूधले नुहाएका, दूधकुण्डमै नुहाएका, अनि म चाहिँ अपराधी जोगाउन म्याउँ म्याउँ गरिरहेको रे । याद राख्नुस्, बाघ बुढो हुँदैमा घाँस खाँदैन ।’
ओलीले यसअघि नै आफूले संसद्मा नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए । उनले जेठ ४ गते नै बोल्ने भनिएको थियो । तर, तीन दिनपछि उनले आज गरेको सम्बोधनमा त्यसबारेमा पनि बोलेका छन् । ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरे । उनले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारसमक्ष माग गरेका छन् । उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरि यो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’
यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको बताउँदै अहिलेको सरकारले जुँगामा ताउ लाउनुपर्ने कुनै कारण नभएको पनि ओलीको भनाई छ । उनले थपे,‘‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न ।’ ओलीले भुटानी शरणार्थीको सेटेलमेन्टको लागि आफूले पनि अमेरिका भ्रमणमा जाँदा (सन् २००६) तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र तत्कालिन विदेशमन्त्री कोण्डालिसासँग कुरा गरेको स्मरण गराएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम