काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रमको खुलेर प्रशंसा गरेका छन् । उनले विपक्षी दलका नेताहरुले भनेजस्तो नीति तथा कार्यक्रम कागजको खोस्टोजस्तो मात्रै नभएको दाबी गरे । उनले नीति तथा कार्यक्रमले अहिलेको देशको विद्यमान समस्यालाई समाधान गर्नसक्ने पनि विश्वास दिलाए ।
प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले नीति तथा कार्यक्रम सकारात्मक रहेको औंल्याए । यद्धपी उनले नीति तथा कार्यक्रममा सांसदहरुबाट प्राप्त कतिपय सुझावहरु समेट्न सकिने बताए । उनले सो क्रममा यसअघि प्रधानमन्त्री भएकाहरुले गरेको कामको मूल्यांकन संसद्बाटै हुनुपर्नेमा जोड दिए ।
उनले केपी ओलीले यसअघि हावादारी कुरा गरेको पनि स्मरण गराए । उनले पानीजहाज, घरघरमा ग्याँस, मेट्रो रेलको कुरा गरेको भन्दै ओलीमाथि व्यंग्य गरे । उनले देशलाई फाईदा हुने कार्यक्रम र नीतिहरु अवलम्बन गर्नुपर्नेमा जोड दिए ।